बल्ल प्रियंकालाई स्क्रिप्टको महत्व थाहा भएछ

करिब ७–८ बर्ष नेपाली फिल्म क्षेत्रमा नायिका प्रियंका कार्कीले राम्रै राज गरिन् । उसो त, प्रियंकाको नामले नै चलेका फिल्मको संख्या खासै छैन । तर, उनी मेकरको नजरमा परेकी थिइन् । खुलेर बोल्ने, धेरै भाउ नखाने, अफर गरेका फिल्म नाई नभन्ने बानीले उनी दीपकराज गिरी, विकास आचार्यदेखि थुप्रै मेकरको क्याम्पमा अटाएकी थिइन् । 

प्रियंकाले आफ्नै काँधमा बोकेको फिल्मको नाम ‘सुन्तली’ थियो । यो फिल्म उनको नामले चल्नुपर्ने थियो तर चलेन । प्रियंकालाई केही बर्ष अघि सम्म फिल्मको स्क्रिप्ट हेर्न नजानेको, आफ्नो भूमिका भन्दा पनि टिममा रमाएको, धेरै फिल्म खेलेको जस्तो आरोप लाग्थ्यो ।

उनको करिअर चाँडै कमजोर हुनुको कारण पनि यही नै हो । प्रियंका उत्कृष्ट फिल्म रोज्ने भन्दा पनि स्टार नायक र नाम चलेका टिमसँग रमाउने नायिकाको रुपमा चिनिएकी थिइन् । 

तर, अहिले प्रियंकालाई फिल्मको अफर खासै छैन । किनकी, उनको नामले फिल्म चल्न छाडेका छन् । तर, अब भने प्रियंकालाई बल्ल स्क्रिप्टको महत्व थाहा हुन थालेछ । 

हालै दिएको एक अन्तवार्तामा उनले नेपाली फिल्मको मेकिङको बारेमा खुलेर कुरा गरिन् । कलाकारको काँधमा फिल्मलाई बोकाउने गरेको तर्क उनको थियो । उनले, फिल्ममा को कलाकार सुहाउँछ भन्दा पनि कस्तो क्यामेराले फिल्म खिच्न लागिएको हो भन्ने विषयमा मेकरले बढी ध्यान दिएको भन्दै आलोचना गरिन् । 

प्रियंकाले हिजो गरेको गल्ती यही नै थियो । उनी, आफूलाई नम्बर १ स्थानमा राखिराख्नका लागि कथा भन्दा पनि टिम र संख्यामा बढी भर पर्ने नायिका हुन् । उनै, कार्की आज स्क्रिप्टको महत्व फिल्म क्षेत्रका फिल्मीकर्मीलाई सम्झाइरहेकी छिन् । हिजोका दिनमा उनले स्क्रिप्ट राम्रो नभइ फिल्म नगर्ने अडान लिइदिएको भए आजका नायिकाहरूलाई केही हदसम्म सजिलो हुन्थ्यो होला । 

नायिका कार्कीले आफ्नै प्रोडक्शनमा दुई वटा फिल्म बनाउने तयारी गरेकी छिन् । एउटा फिल्म पूर्ण रुपमा एक्सन प्रधान हुने र त्यसमा आफू नै खेल्ने उनको भनाई छ । 

यसका लागि आफूले एक्सनको तालिम समेत लिइरहेको कार्कीको भनाई छ । हिजोका दिनमा स्क्रिप्ट छान्न नसकेर गरेको गल्ती प्रियंकाले अब नगरून् । कमसेकम आफ्नो फिल्ममा यो कुरामा उनले सुधार गरून् । अरूलाई भन्नु र आफूले काम गर्नुमा धेरै फरक छ । नायिका कार्कीलाई शुभकामना ।