जब ‘मेयर’को सेटमा मेयरकै अघि जनताले ‘मुर्दाबाद’ भन्न मानेनन्

फिल्म ‘मेयर’को छायांकन सर्लाहीको बागमती नगरपालिकामा धमाधम भइरहेको छ । यसको निर्माणपक्षले सार्वजनिक गरेको तस्विर र भिडियोले पनि टिमको मिहिनेत उच्च देखिएको छ । दिनरात नभनी फिल्मको टिमले काम गरिरहेको तस्विरमा हेर्न सकिन्छ । 

दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको कथा भन्छ । तर, यो उनको बायोपिक फिल्म भने होइन । 

यो फिल्मले भरतबहादुर थापाको राजनीतिक उतारचढावको कथा देखाउने बुझिएको छ । फिल्ममा उनको राम्रा कामलाई मात्र नभएर, विरोधका विषयलाई पनि समेटिएको बुझिएको छ । 

केही दिन अगाडि फिल्मको एक दृश्यको छायांकन गरिएको छ, जहाँ स्थानीय बासिन्दाले थापाको विरोध गरेको देखाइएको छ । सार्वजनिक तस्विरमा भने ‘भरतबहादुर थापा मुर्दावाद’ लेखिएको प्लेकार्ड बोकेका स्थानीय देख्न सकिन्छ । 

यो दृश्यको छायांकनका क्रममा मेयर थापा पनि सेटमै थिए । मेयरको अगाडि स्थानीयहरूले ‘मुर्दाबाद’ भन्न नै मानेनन् । यसपछि, मेयर सेटबाट निस्किएपछि मात्र स्थानीयहरूले विरोधको नारा लगाएको दृश्य दिन मानेका थिए । 

फिल्मलाई उच्च क्यानभासमा खिचिएको निर्माणपक्षले बताएको छ । फिल्मको छायांकनका लागि स्थानीय बासिन्दाहरूले पनि पूर्ण रुपमा साथ दिएको निर्माणपक्षले जानकारी दिएको छ । हरेक दिन जसो सयौं जनतालाई राखेर फिल्मको छायांकन भइरहेको छ । क्लाइमेक्सको दृश्यको छायांकनका क्रममा त हजारौं जनतालाई फ्रेममा राख्ने तयारी गरिएको छ । 

यो फिल्ममा मेयर थापाको भूमिकामा खगेन्द्र लामिछानेले काम गरिरहेका छन् । उनको साथमा फिल्ममा वर्षा राउत, हरिहर शर्मा, अनुप बराल, रविन्द्र झा, दिव्य देव लगायतको पनि अभिनय छ ।