‘महाजात्रा’को ट्रेलरले बनाएको हाइप

फिल्म ‘महाजात्रा’ रिलिज हुन अब एक साता पनि बाँकी छैन । यो फिल्मको टिमले नेपालका विभिन्न स्थानमा पुगेर प्रचार गरिसकेको छ । अब, काठमाडौं केन्द्रित प्रचारमा यसको टिम जुटेको छ । 

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । 

फिल्म ‘महाजात्रा’को ट्रेलरमा समावेश गरिएका संवादले दर्शकको दिमागमा राम्रो प्रभाव पारेको पाइएको छ । यसैले, फिल्म रिलिजको केही दिन बाँकी रहँदा यसको ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा छ । लामो समयपछि कुनै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा देखिएको हो । 

फिल्मको टिमले दर्शकले ट्रेलर मन पराएको भन्दै खुशी व्यक्त गरेको छ । फिल्मको ट्रेलरमा विपिन कार्की, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारले बोलेको संवाद हिट छ । 

चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने अपेक्षा गरिएको छ । अघिल्ला दुई सिक्वेलले पनि दर्शकको दिमागमा दरिलो प्रभाव पारेकाले यसको फाइदा तेस्रो सिक्वेललाई हुने देखिन्छ । 

फिल्मको मंगलबार काठमाडौंमा प्रिमियर गर्ने तयारी समेत गरिएको छ । फिल्मको विषयवस्तु बलियो भएकाले पनि मंगलबार नै प्रिमियरको तयारी गरिएको निर्माणपक्षले बताएको छ ।