कस्तो रह्यो नेपाली फिल्मका लागि फागुन महिना ?

मंसिरदेखि खडेरी लागेको नेपाली फिल्मको बक्स अफिसलाई फागुन महिनामा रिलिज भएका फिल्मले उचाल्ने अपेक्षा गरिएको थियो । तर, के फागुन महिनामा कुनै फिल्मले हिटको ट्याग भिर्न पाए त ?

फागुन महिनामा ६ वटा फिल्म रिलिज भए । तर, यी ६ वटै फिल्मको लगानी सुरक्षित भएको छैन । फागुनको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘जिग्री’ले दर्शकको साथ पाएन । यो फिल्म त रिलिज भएको नै दर्शकले थाहा पाएनन् । हलमा लागेको २ दिनमै फिल्म उत्रियो । 

यस्तै, फागुनको ११ गतेबाट रिलिजमा आएको फिल्म ‘गोर्खा वारियर’ले पनि दर्शकको साथ पाएन । विशेषगरि, फिल्म हेर्नका लागि लाहुरे परिवारका दर्शकको आकर्षण देखियो । केही शहरमा फिल्म हेर्न दर्शकको चाप ठीकठाक रह्यो । तर, निर्माता तथा निर्देशक मिलन चाम्सको लगानी नेपालबाट सुरक्षित हुन सकेन । 

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले दर्शकको राम्रो साथ पाइरहेको छ । प्रिमियरपछि समीक्षा कमजोर आउँदा फिल्मको इनिसियल व्यापारमा ठूलो असर गर्यो । यसपछि, यो फिल्मले दर्शकको साथ पाइरहेको छ ।

तर, दोस्रो सातामा सीमित हलमा खुम्चिनु पर्दा यो फिल्मलाई नेपालबाटै लगानी सुरक्षित गर्न धौ–धौ पर्ने देखिएको छ । यो फिल्म ४ करोड भन्दा माथिको बजेटमा बनेकाले पनि यसलाई नेपालबाट लगानी सुरक्षित गर्न समस्या देखिएको हो । सौरभ चौधरीको निर्देशनमा बनेको यो फिल्मले दर्शक त पायो, तर यति दर्शकले लगानी सुरक्षित हुने अवस्था छैन । आगामी दिनमा फिल्मले गर्ने व्यापारले यसको लाइफ टाइम व्यापार आँकलन गर्नेछ । 

फागुनको २५ गते ३ वटा नेपाली फिल्म रिलिज भए । हलमा धेरै फिल्म हुनुको चाप यी तिनै वटा फिल्मले भोगेका छन् । फिल्म ‘काँडेतार’ले शुक्रबार र शनिबार कमजोर व्यापार गर्यो । तर, यसका निर्माता तथा निर्देशक नवल खड्काले भने फिल्ममा दर्शक आउँदा आउँदै पनि कमजोर शो पाएको भन्दै हलबाट फिल्म उतारे । यसैले, यो फिल्मको व्यापार सुखद देखिएन । 

यस्तै, दयाहाङ राई, मिरुना मगर लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘रङ्गेली’को व्यापार पनि चित्तबुझ्दो छैन । दोस्रो सातामा चलिरहेको यो फिल्मले नेपालबाटै लगानी उठाउन धौ–धौ पर्ने देखिन्छ । फिल्मको इनिसियल व्यापार कमजोर हुनु, शुक्रबार र शनिबार अपेक्षित व्यापार नगर्नुले निर्माताको लगानी नेपालबाट भने उठाउन गाह्रो पर्ने देखिन्छ । 

यस्तै, यही मितिमा चलिरहेको फिल्म ‘उपहार’ले इनिसियल व्यापार गज्जब गर्यो । तर, कम शोका कारण यसलाई पनि लगानी उठाउन अझै केही साता राम्रै दर्शकको साथ पाएर चल्नुपर्ने हुन्छ । फिल्मले दोस्रो साताको शनिबारमा पनि दर्शकको राम्रै साथ पाएको दाबी निर्माणपक्षको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ । 

यो महिना रिलिजमा आएका फिल्महरुमध्ये ‘अगस्त्य र उपहार’मा दर्शकको चाप बढी देखिएको छ । तर, यी दुबै फिल्मलाई लगानी उठाउन अझै केही हप्ता दर्शकको साथ पाउन आवश्यक छ । यसैले, फागुन महिनाले पनि स्पष्ट हिट हुन सफल फिल्म पाएको छैन ।