‘हो म दया र कबड्डीकै वरिपरी रमाइरहेको छु’: रामबाबु गुरुङ

निर्देशक रामबाबु गुरुङले आफू फिल्म ‘कबड्डी’को सिरिज र नायक दयाहाङ राइको वरिपरी हराइरहेको स्विकार गरेका छन् । निफ फिल्म फेस्टिभलको चौथो दिन ‘निर्देशक हराएको सूचना’ शीर्षकमा अन्तरक्रिया गर्दै रामबाबुले यो कुरा स्विकार गरेका हुन् । उनले भने–‘बजारमा के बिकिरहेको छ । स्टारकास्टहरुमा बढी भर पर्यो कि । राम्रो ब्यानर, राम्रो निर्माता, प्राविधिक, स्टारहरूमा भर परेर निर्देशक कहाँ छ भन्ने कुरा हो । यसलाई म स्विकार पनि गर्छु ।’

उनले अगाडि भने–‘एउटा निर्देशक आफ्नो कर्ममा सबै कुरामा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ । तर, फेरि कति हुनुपर्ने भन्ने पनि होला । यो सिर्जनशिल काम भएकाले गर्दा पनि आफूलाई मन लागेको कथा भन्न पाउँछ । तर, यत्ति हो एउटा निर्देशक चाहे राम्रो भनोस्, चाहे नराम्रो भनोस् । तर, त्यहाँ निर्देशकको उपस्थिति भने हुन्छ नै ।’ धेरै ठूला च्यालेञ्ज लिन गाह्रो हुन्छ । तर, म चै आफूलाई जुन विषयमा, जुन कथामा पुर्याउन सक्छु भन्ने आत्मविश्वास आयो भने काम गर्छु । देखिने त आँखामा पनि भर पर्छ । दर्शकहरुले कसरी हेरिररहेका छन्, कथालाई सिनेमालाई । निर्देशकले राम्रो गरेको छ, गरेको छैन भन्ने पनि हुन्छ । होला हराएको छु । आगामी दिनहरूमा देखिने कोशिश गर्छु ।’

रामबाबुलाई ‘कबड्डी’को सिरिजबाहेक अरु फिल्ममा आफैंलाई चिनाउन मुश्किल छ । अरु फिल्ममा पनि उनी ‘कबड्डी’कै निर्देशकको रुपमा चिनिएका छन् । यो कुरा उनले स्विकार पनि गरे ।

भने–‘अहिलेसम्म मैले जति वटा फिल्ममा काम गरेको छु, त्यसमा म देखिएको छु नै जस्तो लाग्छ । तर, मलाई अधिकांशले दयाहाङ राईलाई मात्र लिएर उस्तै प्रकारको फिल्म बनाएको भन्नुहुन्छ । यो फेरि सत्य कुरा पनि हो । मेरो परिचय पनि यही नै हो । म यसमा रमाइरहेको पनि छु ।’