के अन्तरवार्ता दिने लोभमा फिल्ममा करोड लगानी गर्छन् निर्माता ?

नेपाली फिल्म क्षेत्रमा मेकर, निर्देशक वा निर्मातामध्ये को हाबी भन्ने प्रश्न सधैं नै उठिरहेको छ । कतिपय फिल्ममा निर्माताले  निर्देशकलाई ओझेलमा पारेको टिप्पणी पनि नसुनिएको होइन । तर, अहिलेको समयमा ८० प्रतिशत भन्दा बढी निर्माताले फिल्म क्षेत्रमा नबुझी लगानी गरिरहेका छन् ।

फिल्मले कति कमाउँछ, कति लगानी गर्नुपर्छ भन्ने नै नबुझी रहरै रहरमा फिल्म बनाउनेहरूका कारण पनि यो क्षेत्र माथि जान नसकेको तर्क उठ्ने गरेको छ ।  

काठमाडौंमा जारी ‘निफ फिल्म फेस्टिभल’को चौथो दिन ‘निर्देशक हराएको सूचना’ शीर्षकमा बहस भइरहँदा निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशक र निर्माताको विषयमा चर्चा गरे । उनले, नयाँ निर्माता आएर फिल्म बनाउन खोज्दा आफूले नमानेको तर धेरैले ‘इको सिस्टम’ बिगारेको भन्दै आफूलाई गाली गरेको उनको तर्क थियो । 

दीपकले भने–‘मैले धेरै एनआरएन साथीहरूलाई फिल्म नबनाउन आग्रह गर्दा केही साथीहरूले गाली गरे । निर्माताले फिल्म नबनाएसम्म निर्देशक, प्राविधिक, कलाकारहरूको घर कसरी चल्छ भन्दै मलाई गाली गरे । यसैले, मुख्य कुरा भनेको फिल्म क्षेत्रलाई बुझेर नै आउन आवश्यक छ ।’

फिल्म क्षेत्र बुझेका निर्माताले फिल्म बनाउँदा निर्देशकको क्रियशनलाई नै मार्ने गरेको र नबुझेका निर्माताले फिल्म बनाउँदा निर्देशकले उनीहरुलाई मार्ने गरेको दीपकको तर्क थियो । 

उनले, केही निर्माताहरूले त मिडियाको अगाडि अन्तरवार्ता दिने लोभमा पनि करोडौं रकम खर्च गरेको बताए । भने–‘निर्देशकको हिसाब पहिले नै तयार हुन्छ । निर्मातालाई निर्देशकले हिसाब देखाउँछ । अगाडि ५–७ वटा क्यामेरा देखेपछि यसै पनि निर्माता मख्ख हुन्छन् । अनि घरमा, ससुरालीमा फोन गर्दै आफ्नो अन्तरवार्ता हेर्न आग्रह गर्छन् । यति रमाइलो ठाउँ रहेछ भन्दै गोजीबाट करोडका करोड निकाल्छन् ।’

दीपकले यही प्रसंगमा अगाडि भने–‘निर्देशकले हिरोले त ५० लाख लिन्छ भनिदिन्छ  । निर्माता खुशी हुँदै पैसा निकाल्छ । उता निर्देशकले हिरोसँग २५ लाख आफूलाई दिनुपर्ने सर्त राख्छ । ठाउँका ठाउँ निर्देशकले २५ लाख खाइदिन्छ । निर्माता अन्तरवार्ता दिन पाउने लोभमै मख्ख भएर करोड निकाल्छ ।’

नेपाली फिल्म क्षेत्रमा निर्माता र निर्देशकले एक अर्कालाई मारिरहेको उनको तर्क थियो । कतिपय फिल्ममा निर्माता निर्देशकमाथि हाबी भएको त कतिपय फिल्ममा निर्देशक निर्मातामाथि हाबी भएको देखिन्छ । यो सिस्टम चलिरहेको छ । यसैले, फिल्म क्षेत्र नै नबुझी निर्माताले लगानी गर्दा र निर्देशकले फिल्म निर्देशन गर्दा यो अन्योलता सिर्जना हुने गरेको छ ।