हरिवंशले प्रदीपलाई सोधेका थिए–‘महाजात्रामा मेरो भूमिका हुन्छ कि हुँदैन भाई ?’

कलाकार हरिवंश आचार्यलाई लिएर फिल्म बनाउन थुप्रै निर्माता लालायित छन् । उनले, काम गरेका फिल्मले बक्स अफिसमा राम्रो कमाई पनि गरेका छन् । तर, हरिवंशले भने छनोट गरेर मात्र फिल्ममा काम गर्छन् । 

निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका ‘शत्रु गते, महापुरुष र महाजात्रा’मा हरिवंशले काम गरेका छन् । फिल्म ‘महापुरुष’ले सुखद कमाई गर्दा हरिवंशको अभिनयको पनि तारिफ भयो । अरूलाई सधैं हँसाइरहेका हरिवंशले ‘महापुरुष’मा पनि सबैलाई रुवाएका थिए । यही फिल्मबाट उनले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जिते । 

उनै, हरिवंशले फिल्म ‘महाजात्रा’का लागि आफै भूमिका मागेका रहेछन् । यो कुराको खुलासा निर्देशक प्रदीप भट्टराईले पत्रकारहरुमाझ गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा हरिवंशले पठाएको सन्देश पढ्दै प्रदीपले भने–‘उहाँ जस्तो कलाकारले मलाई सन्देश पठाएर भूमिका माग्न पर्छ । हरिवंश दाइलाई खेलाउन जो पनि तयार हुन्छ, हैन र । तर, उहाँबाट अरु कलाकारले धेरै कुरा सिक्नुपर्छ । यहाँ त फलानोसँग किन बोल्ने हो र ? कसैले फिल्ममा काम मागेर पनि गर्छ भन्ने सोच छ । तर, हरिवंश दाइले पठाएको सन्देशबाट अरुले पाठ सिक्नुपर्छ ।’

हरिवंशले प्रदीपलाई पठाएको सन्देशमा लेखिएको थियो–‘महाजात्रामा मेरो लागि भूमिका छ कि छैन भाई, जान्न पाएँ हुन्थ्यो ।’

प्रदीपले यो म्यासेजलाई ठूलो फ्रेम गरेर कोठामा राख्ने पनि बताएका छन् । फिल्म ‘महाजात्रा’मा हरिवंश आचार्य नेताको भूमिकामा देखिएका छन् । चैत्र ९ गतेबाट रिलिज हुने फिल्म बक्स अफिसमा सुपरहिट हुने विश्वास गरिएको छ ।