‘अगस्त्य’बाट मनमा झन् ठूलो आगो बलेको छः सौरभ चौधरी

फिल्म ‘अगस्त्यः च्याप्टर १’का निर्देशक सौरभ चौधरीले यो फिल्म रिलिज भएपछि मनमा झन् ठूलो आगो बलेको बताएका छन् । फिल्म रिलिजको तेस्रो हप्तामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै यसको टिमले दर्शकलाई धन्यवाद दिएको हो । सोही क्रममा निर्देशक चौधरीले आफ्नो मनमा निकै ठूलो आगो दन्केको र अर्को फिल्ममा यो भन्दा उत्कृष्ट काम गर्ने वाचा गरे ।

उनले भने–‘कुनै पनि फिल्म बनाउँदा शत प्रतिशत राम्रो हुन्छ भन्ने हुँदैन । अर्को फिल्म बनाउँदा पनि कही कतै कमजोरी हुन्छ नै । तर, फिल्म क्षेत्रका केही मानिसहरू र केही मिडियाकर्मी यसरी लागिदिनुभयो कि, सोमबारसम्म त म आफूलाई फिल्म नै बनाउन नआउने रहेछ कि भन्ने भान भएको थियो ।’

तर, शिक्षकले पनि कक्षाको सबैभन्दा राम्रो विद्यार्थीले नै एक–दुई वटा प्रश्न बिगार्दा गाली गर्छन् भन्ने सोचेर आफ्नो मन वुझाएको सौरभले बताए । उनले भने–‘मैले राम्रो काम गर्ने कोशिश गरेको थिएँ र मलाई गाली आएको होला भन्ने लागेको छ । अर्को फिल्म यो भन्दा कैयौं गुणा राम्रो गर्छु । मन भित्र सल्किएको आगो अहिले झन् ठूलो भएको छ । यसलाई म स्क्रिनमा उतार्छु । फेरि गल्ती भयो भने अर्कोमा सुधार्छ ।’

सौरभले यही क्षेत्रबाट सबैको घर परिवार चलेको भन्दै अगाडि भने–‘सुरुवातमा सबैलाई यस्तै गाह्रो हुन्छ होला । तर, फिल्म क्षेत्रमा अरूलाई स्विकार गर्ने परिपाटीको विकास भएको छैन कि जस्तो लाग्यो । बोल्ने स्वतन्त्रता सबैमा छ । तर, के बोल्ने के नबोल्ने भन्ने पनि हुन्छ । यो संकृती हामीमा विकास हुन आवश्यक छ । मैले २ जना दर्शक जोडे भने भोलि अरु निर्देशकलाई पनि फाइदा होला । अरुले जोड्नु भयो भने मलाई पनि फाइदा हुन्छ । सँगै हिँडेको साथीमध्ये एक जनाको कपडा च्यातिएको छ भने विस्तारै तिम्रो कपडा च्यातिएको छ भन्नु पर्छ । सबैले सुन्ने गरि तेरो कपडा च्यातिएको छ भन्नु राम्रो कल्चर होइन । सबैले यो कुरा स्विकार गर्न आवश्यक छ जस्तो लाग्छ ।’

फागुनको १८ गतेबाट रिलिजमा आएको यो फिल्मले तेस्रो सातामा पनि सुखद कमाई गरिरहेको छ । फिल्मको विश्व बजारबाट लगानी सुरक्षित भएको निर्माणपक्षको दाबी छ । यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय छ ।