युट्युबमा ‘फर्की फर्की’को ट्रेलरको धमाका, फिल्म के होला ?

नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ले युट्युबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको पहिलो दिनमा १० लाख बढी भ्यूज बटुलेको यो फिल्मको ट्रेलरले यो समाचार तयार पार्दासम्म १८ लाख बढी भ्यूज बटुलिसकेको छ ।

फिल्मको ट्रेलरलाई दर्शक, फिल्मीकर्मीले निकै रुचाएका छन् । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा उच्च आशा समेत बढेको छ । 

रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार भएको यो फिल्मले टाइम ट्राभलको कथा भन्छ । अनमोलले यसअघि काम गरेका फिल्म भन्दा विल्कुलै फरक कथा भएकाले पनि दर्शकको रोजाइमा यो फिल्म पर्ने देखिएको छ । यसपटक, सुयोग गुरुङले फिल्मको लेखन तथा निर्देशनमा मिहिनेत गरेको देखिएको छ । 

एउटै प्रकारका कथा हेर्दै आएका दर्शकका लागि अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल अभिनित यो फिल्मको कथावस्तु, मेकिङ अलग देखिएको छ । यही कारणले गर्दा यसको ट्रेलरले युट्युबमा हंगामा मच्चाइरहेको छ । 

बक्स अफिसमा यो फिल्मले सुखद कमाई गर्ने आँकलन गरिएको छ । नरेन्द्र मैनालीको छायांकनपक्षको पनि तारिफ भइरहेको छ । 

‘छड्के २’मा अलग गर्न खोज्दा दर्शकलाई निराश बनाएका अनमोल फेरि आफ्नै सुरक्षित जनरामा फर्किएका छन् ।