‘एक्टर’को शुभसाइत, प्रदिप, आना र दिव्याले गरे हवन

फिल्म ‘एक्टर’को शुभसाइत गरिएको छ । आज बिहान ललितपुरको भैसेपाटीमा रहेको कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो ।

शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू नायक प्रदीप खड्का, नायिकाद्धय आना शर्मा र दिव्या रायमाझी, नायक सुशील सिटौला, कलाकार दिव्य देव लगायत उपस्थित थिए । 

‘एक्टर’ नव–नायिका दिव्या रायमाझीको डेब्यू फिल्म हो । यसैले, शुभसाइत समारोहमा दिव्या सबैको आकर्षणमा परिन् । वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ । 

यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।