राहतको नाममा कलाकारको घुमफिर

देश कोरोना भाइरसको कारण समस्यामा छ । आज मात्रै नयाँ ३ संक्रमित फेला परेका छन् । अहिले देशमा लकडाउन चलिरहेको छ र यो परिस्थितिमा सामाजिक दुरी कायम राख्दै घरमा नै रहनु जरुरी छ ।

तर कलाकारहरु भने चुप छैनन् । एक तरिकाले उनीहरु सहयोग पनि गर्दै छन् । तर उनीहरुको सहयोगको तरिका असुरक्षित पो भएको हो की ? कहिले राहत वितरण भन्दै त कहिले जनावरलाई खुवाउने भन्दै उनीहरु घर बाहिर निस्किरहेका छन् ।

सहयोगका अन्य तरिका समेत रहेका छन् । कुनै संस्थासंग जोडिएर सहयोग गर्ने हो भने उनीहरुको प्रत्यक्ष सहभागीता जरुरी देखिदैन । उनीहरुको उद्येश्य समस्यामा परेका व्यक्तिको समस्या समाधान मात्रै गर्नु हो भने फोटोग्राफर बोकेर फिल्डमा निस्किन पनि जरुरी देखिदैन । सामाजिक संजाल नियाल्दै गर्दा कतिपयले त घुमफिर गर्नकै लागि पास लिएका छन् झैँ भान हुन्छ ।

कतै कलाकार घर बस्दा बस्दा मन बहलाउन राहत, सहयोगको नाम लिदै बाहिर निस्किदै पो छन् की ? या यसलाई लाइमलाइटमा रहीरहने अर्को माध्यम बनाइरहेका हुन् कि ?

सहयोग गर्नु मानव धर्म हो । तर चर्चाको लागि गरिएको सहयोगले आत्मसन्तुष्टि दिन्छ होला ? सोच्न जरुरी छ ।