रुपा र कृष्णको कथा ‘रुपाकृ’

कृष्ण वली र रुपा मगरको कथामाथि बनेको नाटक ‘रुपाकृ’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ ।

विद्युतका प्राविधिक कृष्ण र रुपाले अन्तरजातिय विवाह गरेका हुन् । विवाहको केही समय वित्न नपाउँदै विद्युतको झड्काले कृष्ण मरणसन्न अवस्थामा पुगे । उपचारपछि उनी त बाँचे, तर हात खुट्टा सग्लो रहेन । दुबै हात र एउटा खुट्टा काटियो । त्यसपछि रुपा र कृष्णले एकअर्कालाई जसरी आड–भरोसा दिए त्यो सबैको लागि अनुकरणिय थियो ।

रुपा र कृष्णको यही कथालाई बुनेर तयार गरिएको नाटक ‘रुपाकृ’ गएको सोमबारदेखि मञ्चन भैरहेको छ । हरेक दिन एउटा शो अपरान्ह पाँच बजेदेखि सुरु हुन्छ भने शनिबार एक बजेको अतिरिक्त शो राखिएको छ ।

नाटक रेनुका कार्कीले निर्देशन गरेकी छन् भने प्रस्तुतकर्ता नविन अवाल रहेका छन् । ‘रुपाकृ’मा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुईकेल, लकेश राई, मयराम ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, रनिव जोशी, परि शाक्यको अभिनय छ ।