नीतिलाई जसो गर्दा पनि सुख छैन

मोडल नीति शाहले बल्लतल्ल फिल्ममा काम गर्न पाइन् । साइन गरेका फिल्म धमाधम नबन्दा उनलाई ‘अनलक्की’ नायिकाको ट्याग पनि लाग्यो । तर, फिल्म ‘खजुरे ब्रो’को छायांकन सकिएपछि त नीतिको दिन फर्किए जस्तै भयो । उनले अन्य फिल्म पनि धमाधम साइन गरिन् । 

यसरी, धमाधम फिल्म साइन गरिरहेकी नीति अब दर्शकलाई आफ्नो काम देखाउन चाहन्छिन् । फिल्म ‘खजुरे ब्रो’को गीत रिलिज कार्यक्रममा नीति निकै उत्साहित देखिइन् । उनले, आफूलाई मिडियाले ‘अनलक्की’ भन्दा आफू निराश भएको पनि बताइन् । उनले, मिडियाकर्मीलाई आफूलाई सहयोग गर्न आग्रह पनि गरिन् । 

तर, सार्वजनिक गीतमा नीतिको एउटा दृश्य मात्र छ । अझ, गीतको भिडियोमा नीतिको खासै काम देखिंदैन । उनको सानो दृश्य मात्र गीतको भिडियोमा समावेश गरिएको छ । 

अब, गीतमा सानो दृश्यमा देखिँदा पनि खुशी भएको भन्दै गसिप बजारमा नीतिको खबर सार्वजनिक भइरहेका छन् । फिल्मको अन्य गीत, ट्रेलर, टिजर त आउन बाँकी नै छ । तर, सार्वजनिक पहिलो गीतले भने नीतिलाई हिस्स बनाइदियो ।

आखिर, फिल्म नबनेर हैरान भएकी नीतिलाई फिल्मको गीत रिलिज हुँदा केही हदसम्म राहत मिलेको थियो । तर, भिडियोमा उनको सानो झल्को मात्र अटाएपछि फेरि आलोचना हुन थालेको छ । आखिर, नीतिलाई जे गरेपनि सुख छैन है ।