चमत्कार खोजिरहेका आकाश

नायक आकाश श्रेष्ठको यो बर्ष एउटा मात्र फिल्म ‘हिँड्दा हिँड्दै’ रिलिज भयो । अहिले उनको हातमा फिल्म नै छैन । म्युजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिरहेका छन् । कुनै समय नेपाली फिल्म क्षेत्रको हट केक बनेका यी हिरो अहिले भने हराए जस्तै छन् । 

आकासले बारम्बार नयाँ फिल्म लिएर दर्शकमाझ आउन लागेको बताइरहेका हुन्छन् । तर, उनले अहिलेसम्म नयाँ फिल्म साइन गरेको खबर छैन । 
बरु, उनी आफ्नी प्रेमीका करुणा श्रेष्ठसँग नै समय बिताइरहेका छन् । करुणा र आकाश केही दिनदेखि थाइल्याण्डमा छन् । उनीहरुले एकसाथ तस्विर सार्वजनिक नगरेपनि छुट्टाछुट्ट तस्विर भने सार्वजनिक भइरहेका छन् । 

आकासले सामाजिक संजालमा तस्विर राख्दै लेखेका छन्–‘कुनै पनि चमत्कारका लागि थोरै समय लाग्छ नै ।’

आकाशको यो स्टाटसले पनि के बुझिन्छ भने, उनी फिल्मी करिअरमा केही न केही चमत्कार चाहन्छन् । यसका लागि उनले केही समय लिइरहेका छन् । तर, उनले कहिलेसम्म यो समय लिने हुन् त्यो भने उनलाई नै थाहा होला ।

गतबर्ष दुई वटा फिल्म असफल भएपछि सुस्ताएको आकाशको करिअर यो बर्ष रिलिज भएको ‘हिँड्दा हिड्दै’ले अझै कमजोर बनाइदियो । अब, आकासले नयाँ फिल्म कहिले साइन गर्ने हुन्, उनका फ्यानका लागि भने प्रतीक्षा  पक्कै पनि छ ।