‘प्रियंका चोपडाको गुदी किशोर नेपालले कहिले खोतल्नु भएछ ?’

फिल्म कोहलपुर एक्स्प्रेसको ट्रेलर सार्वजनिक कार्यक्रम, ट्रेलरको गुण दोषको चर्चाभन्दा नेपाली हिरोइनमा गुदी छैन भन्ने बिषयको चर्चाको केन्द्रमा रहयो ।
केहि दिन अगाडि मेरोफिल्म डट कममा बरिष्ठ पत्रकार किशोर नेपालको लेख प्रकाशित भएको थियो । सो अन्तर्वार्तामा पत्रकार नेपालले नेपाली हिरोइनहरुमा गुदी नभएको बताएका थिए । उक्त अभिब्यक्तिको पक्ष विपक्षमा धेरैले आफ्ना धारणा राखे । तर, हिरोइनहरु स्वयंले भने सार्वजनिक रुपमा यसको खण्डन वा स्वीकारोक्ति गरेको देखिएन । ब्यक्तिगत रुपमा खुलेर त्यसको प्रतिकार वा त्यसको बिरुद्ध केही बोल्न नसकेका हिरोइन त्रय ऋचा शर्मा केकी अधिकारी र प्रियंका कार्की लगायतले, एक पत्रकारले नेपालका विरुद्धमा लेखेको स्टाटसमा भने कमेन्टबाजीमा सक्रिय भए । कमेन्टमा रिचाले लेखेकी थिइन् ‘काँक्रो फर्सी हो र हामी गुदी हुनलाई ?’उता नायिका प्रियंका कार्कीले ऋचाको यो कमेन्टको समर्थन गर्दै ‘हाहाहा नाइस वान रिचु’ भन्दै आफ्नो प्रतिकृया जनाएकी छिन् ।
यही बिषयलाई लिएर कोहलपुर एक्सप्रेसको ट्रेलर सार्वजनिक कार्यक्रममा तिनै जना नायिकालाई पत्रकारले प्रश्न गरे । उनीहरु सबैको जवाफ लगभग एउटै थियो ‘अरुको गुदि नदेख्नेको गुदी पनि कति छ सजिलै बुझ्न सकिन्छ ।’ ऋचा शर्माले नेपालको लेखको प्रतिउत्तरमा आफूले पनि केही लेख्ने तयारी गरिरहेको बताइन् ‘उहाँको लागि खुल्ला पत्र लेख्न मन छ तर लेख्न भ्याएको छैन । उहाँले प्रियंका चोपडाको मात्र गुदी छ भन्नु भएको रहेछ, हामीलाई जान्न मन छ प्रियंका चोपडाको गुदी उहाँले कहिले गएर खोतल्नु भएछ ?’
नायिका प्रियंका कार्कीले भने नेपालले व्यक्तिगत रिसिइबीका कारण आफ्ना बारेमा नकारात्मक टिप्पणी गरेको बताएकी थिइन् । ‘अघिल्लो वर्ष होलीमा म आफूले दिदै नदिएको अन्तर्वार्ता प्रकाशित भयो, इकान्तिपुरमा । त्यसमा मेरो चरित्रलाई तल्लो स्तरमा झरेर प्रस्तुत गरिएको थियो । हुन त होली ब्यङ्ग्य भनेर पोस्ट गरिएको थियो तर त्यसमा मलाई र मेरो क्यारेक्टरलाई निकै गिराइएको थियो । पछि मैले सम्बन्धित निकायमा कुरा राख्दा थाहा पाएँ कि त्यो उहाँले नै लेख्नु भएको रहेछ । मैले त्यो हटाउन लगाएँ । अब तपाईंहरु आफैं बुझ्नुस् उहाँको गुदी कस्तो छ । ’
सो लेखमा पत्रकार नेपालले प्रियंकाको खुबी दस प्रतिशत र बाँकी अरु कारणले उद्योगमा टिकिरहेको आसय व्यक्त गरेका थिए ।
सो लेखमा नेपालले अभिनेत्री केकी अधिकारीलाई भने बौद्धिक नायिका भनि प्रशंसा गरेका थिए । तर आफ्ना सँगीलाई गाली गरेको प्रसंगमा उनले आफूलाई मौन राख्न सकिनन् । उनले पनि ‘म गुदी मै केन्द्रित हुन चाहान्छु’भन्दै पत्रकार नेपालको आलोचना गरिन् । ‘यी सबै कुरा सामान्य हुन । जब महिलाको बारेमा कुरा हुन्छ त्यहाँ हजारौँ लाखौं प्रतिकृया आउँछ । हामीले यस्ता कुरालाई पढ्दै, देख्दै, भोग्दै आएका हौँ र पचाउन खप्पिस पनि भइसक्यौँ तर यस्ता कुरा जब बरिष्ठ पत्रकारबाट आउँछ कुरा अलि फरक हुन्छ । हामीमा गुदि छ कि छैन कसैलाई प्रुभ गरिरहनु पर्ने आवश्यकता छैन,केकीले भनिन्, ‘हुन त उहाँले केकी अली बौद्धिक लाग्छ भन्नु भएको रहेछ तर म उहाँको लेखमा भने कुनै बौद्धिकता देख्दिन । उहाँले महिलालाई अझ भन्दा महिला एक्टरलाई डोमिनेट गर्ने हिसाबले लेख्नु भएको छ । उहाँले समाजमा महिला एक्टरको नकारात्मक इमेज प्रस्तुत गर्न खोज्नु भएको छ । मैले यो भनिरहँदा अरु कसैको भन्दापनि लेख्ने ब्यक्तिको गुदिको कुरा आउँछ ।’