बज्राचार्यको फोटो विजयी

प्रसन्न बज्राचार्यको फोटोले हिउँद (विन्टर) शीर्षकमा गरिएको #फोटो नेपाल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पर्यटन बोर्डले फोटो पत्रकार क्लब (पिजे क्लब नेपाल) सँगको सहकार्यमा गरेको #फोटो नेपाल प्रतियोगितामा सहभागि २ सय ३० फोटोग्राफरका ५ सय ९ फोटोलाई पछि पार्दै प्रसन्नको फोटो उत्कृष्ट चुनिएको हो ।


पहिलो पटक भएको #फोटो नेपाल प्रतियोगितामा विक्रम मगरको फोटोले दोस्रो तथा प्रमिन मानन्धरको फोटोले तेस्रो स्थान हासिल गरेको छ ।
विजेता फोटोग्राफर प्रसन्नले पर्यटन बोर्डबाट शुक्लाफाँटाको तीन दिन दुई रातको टुर प्याकेजसँगै नगद ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी पर्यटन बोर्डले दोस्रो भएका विक्रमलाई तीन दिन दुई रातको लुम्बिनीको टुर प्याकेज र नगद ५ हजार रुपैयाँ तथा तेस्रो हुने प्रमिनलाई तीन दिन दुई रातको चितवनको टुर प्याकेज र नगद ५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।


प्रतियोगितामा सहभागि ५ सय ९ फोटोमध्येबाट पहिलो चरणको जजिङमार्फत ३८ फोटोग्राफरका उत्कृष्ट ५० फोटो #फोटो नेपालको प्रदर्शनीमा समावेश छन् । प्रदर्शनीमा समावेश ५० उत्कृष्ट फोटोमध्येबाट अन्तिम चरणको जजिङमार्फत शीर्ष तीन फोटो चयन गरिएको हो । हिउँद (विन्टर) थिममा गरिएको प्रतियोगितामा जाडोयामको जनजीवनसँग सम्बन्धित फोटोहरु सहभागि थिए ।


नेपाल पर्यटन बोर्डले दुई वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्दन गर्ने उदेश्यका साथ पिजे क्लबसँगको सहकार्यमा प्रत्येक महिना फोटो प्रदर्शनी गर्दै आएको थियो । #फोटो नेपाल नाममा फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनी सँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रुप लिँदा देश चिनाउने फोटो प्रदर्शनी दुई वर्षदेखि निरन्तर रुपमा भइरहेको छ ।


पर्यटन बोर्डले ३फोटो नेपाल नाममा गरिदै आएको प्रदर्शनी नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, बन्यजन्तु तथा चरा चुरुंगीका रोचक पक्षका साथै देशका विभिन्न क्षेत्रको जीवनशैलीलगायतका विषय समेट्ने उदेश्यमा पूर्ण रुपमा सफल रहेको जनाएको छ । #फोटो नेपाल पर्यटन प्रवर्दनमा सरकारी, गैह्र सरकारी निकाय र विभिन्न संघ संस्थासँगै शौखिन फोटोग्राफर र सर्वसाधारणलाई पनि प्रवर्दकका रुपमा लाग्न प्रोत्साहित गर्ने अभियानका रुपमा पर्यटन बोर्डले वयान गरेको छ ।


प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबार पर्यटन बोर्डमा हुने गरेको #फोटो नेपाल प्रदर्शनीका कारण थुप्रै सर्बसाधारण र शौखिन फोटोग्राफरलाई यो अभियानप्रति आकर्षित गरेको पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताउनुभएको छ । ‘#फोटो नेपाल नियमितताका कारण प्राकृतिक, सांस्कृतिक सुन्दरता वा घुमफिरका शौखिनले मन पराउने खालका गतिविधि क्यामरामा क्याप्चर गर्ने र त्यसलाई सार्वजनिक गर्ने क्रम बढेको हामीले अनुभव गरेका छौं,’ कार्कीले भन्नुभयो, ‘नेपाल पर्यटन बोर्डबाट पिजे क्लब संगको सहकार्यमा भएको #फोटो नेपाल प्रदर्शनीले शौखिन फोटोग्राफरलाई पनि नेपाल चिनाउने तस्बिर खिच्न प्रोत्साहित गरेको हामीले अनुभव गरेका छौं । त्यसैले देश चिनाउने र बढि भन्दा बढि पर्यटकीय गतिविधिबाट राष्ट्रिय अर्थतन्त्रलाई योगदान गर्ने उदेश्यमा हामीले अभियानलाई प्रदर्शनीसँगै प्रतियोगिताको रुपमा विस्तारित गरेका हौं ।’


#फोटो नेपालको सफलताबाट उत्साहित भएर पर्यटन बोर्डले प्रतियोगितात्मक रुपमा यसलाई विस्तार गरेको बोर्डका प्रमूख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताउँनुभयो । ‘#फोटो नेपाल देश भित्र मात्र सिमित रहेको छैन । यसले आफ्नो उदेश्यअनुसार संशारभर रहेका फोटोग्राफरहरुको नेपालमा खिचिएको फोटो प्रदर्शनी गर्ने, छलफल गर्ने र फोटो मार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानको रुप लिएको छ,’ जोशीले भन्नुभयो, ‘#फोटो नेपालको सफलताबाट हामीलाई प्रतियोगितात्मक प्रदर्शनी गर्ने उत्साह मिलेको हो । बोर्डको पर्यटन प्रवर्दन अभियानमा फोटो पठाएर साथ दिने सम्पूर्ण फोटोग्राफर तथा संयोजन गर्ने पिजे क्लब नेपाललाई धन्यवाद दिन चाहन्छु ।’

फोटो : पिजे क्लब