कालीप्रसाद बास्कोटा ‘तितेपाते’ चोरी विवादमा

दिपेन्द्र घिमिरे – अभिनेता भुवन केसीको निर्माण तथा उनका पुत्र अनमोलको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘कृ’ गीत चोरीका कारण यतिबेला निकै चर्चामा छ । भुवन अभिनित फिल्म ‘सम्झना’मा समावेश चर्चित गीत ‘उकालीमा अघि अघि’लाई अनमोलको फिल्ममा रिमेक गरेर राखिएपछि फिल्म ‘सम्झना’का निर्देशक शम्भु प्रधान न्याय पाउनका लागि प्रहरीको ढोकासम्म पुगिसकेका छन् । यो गीतको विषयमा न्यायिक निकायले कसको पक्षमा फैसला गर्ला भन्ने आ–आफ्नै निक्र्यौल भइरहँदा अर्को फिल्म ‘डमरुको डण्डीबियो’को गीत ‘तितेपाते तितेपाते झ्याप झ्याप’ चोरीको भन्ने विवादमा मुछिएको छ ।

संगीतकार कालीप्रसाद बास्कोटाको स्वर र संगीतमा रहेको गीतलाई अर्का गायक प्रकाश पौडेलले आफ्नो गीत चोरिएको दाबी गरेपछि विवाद चुलिएको छ । एकताका निकै चर्चामा आएको गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ का सर्जक गायक पौडेलका अनुसार ‘तितेपाते तितेपाते’ गीत उनले २०५७ सालमा गाएर त्यसलाई २०५८ मा एल्बमका रुपमा बजारमा ल्याएका थिए । ‘हिन्दी फिल्म दंगलको एउटा गाना र तितेपाती मिक्स गरेर नयाँ गीत लेखिएको रहेछ । मैले १५, १६ वर्षदेखि स्टेजमा गाइरहेको गीतलाई अहिले आएर अर्का संगीतकार तथा गायकले फिल्ममा प्रयोग गरेका रहेछन् । अब म के भन्नुर यो विषयमा,’उनले मेरो फिल्मसँग भने,‘यो गीत मैले १० वर्षको लागि एउटा म्युजिक कम्पनीलाई अधिकारका रुपमा जिम्मा दिएको थिएँ । त्यो समयावधि सकिएर अहिले यो गीत मेरो अधिकारमा छ ।  यो कुनै लोकगीत पनि होइन, मौलिक शब्द पनि होइन । खेल खेल्दा दर्शकले हुटिङ गर्दा प्रयोग गर्ने शब्दलाई राखेर मैले गीत बनाएको थिएँ । अहिले मात्र यो शब्द प्रयोग गरिएको होइन् ।’


उनले आफूलाई पनि कालीका गीत मन पर्ने भए पनि अहिले आएर आफ्नो गीतमाथि यस्तो व्यवहार गर्दा दुःख लागेको बताए । ‘कालीभन्दा म अगाडि नै यो फिल्डमा आएको हुँ । मलाई डोमिनेट गर्नुभन्दा पनि उसले आफैले बुझ्ने कुरा हो । सबैको समय आउँछ । समयले हिट र फ्लप बनाउँछ । म आफै उसलाई फलो गर्दिन् । उसले मलाई चाहिँ फलो गर्नुपर्ने हो,’ पौडेलले भने ।


यता गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा गीतमा प्रयोग गरिएको शब्द जसले पनि प्रयोग गर्न सक्ने भएकाले आफूले फिल्ममा राखेको दाबी गरे । ‘यस्तो शब्द खेलकुदका गतिविधिमा बढी प्रयोग हुन्छ । डमरुको डण्डीबियो पनि खेलसँग सम्बन्धित फिल्म भएकाले फिल्मका लागि यो गीत उपयुक्त थियो,’कालीले भने, ‘यो विषयमा कसैको सम्पत्ति चोरी भयो वा निकालियो भन्नु गलत कुरा हो । अहिलेसम्म को को व्यक्तिको कुन कुन गीत बन्यो त्यो त मलाई थाहा भएन । मेरो बुझाईमा संगीत एउटा कुरा हो । शैली एउटा कुरा हो । यसलाई कसले कसरी लिन्छ । कसको को माथि के नियत छ मलाई थाहा छैन । मेरो इन्टेसन के थियो भने खेलको विषयमा फिल्म बनाउँदा दर्शकले खेलाडीलाई कुन हिसाबले हौसला दिन्छन् भन्ने कुरा थियो ।’उनले पछिल्लो समयमा गीत चोरीका विषयमा मानिसहरुले आफूले माइलेज लिने हिसाबले कुरा गरिरहेको दाबी गरे ।
उनले मिडिया प्रति घुमाउरो पारामा रोश प्रकट गर्दै पछिल्लो समयमा कुनै तथ्य बुझ्नु भन्दा पनि तथ्यलाई तोडमोड गरेर चरित्र हत्या गर्न तिर लागिएको बताए । ‘हामी कसैलाई नेगेटिभ पोट्रे गर्दा खुशी हुन्छौं । राम्रो काम गर्दा कसैले जस पाउँदैन ।’ उनले भने ।
विवादमा तानिएका फिल्म र गीत
रुपै मोहनी रुपै मोहनी – शत्रु गते
यति यति पानी – कृ
नाइलनको साडीमा – छक्का पन्जा २