‘फिल्म पनि राजनीति नै हो, यसलाई प्राथमिकता दिएर देशलाई विश्वमा चिनाउन सकिन्छ’ – योगेश भट्टराई, सचिव, नेकपा एमाले

मैले हेरेको पहिलो फिल्म कुन हो, याद छैन तर २०३६-३७ सालतिर धरानमा हेरेको त्यो एउटा हिन्दी फिल्म थियो । पहाडबाट मधेस आउँदा दाइसँग धरान घुम्न गएको थिएँ । त्यही बेला पहिलोपटक फिल्म हेर्ने मौका जुरेको थियो ।

पहिलोपटक सिनेमा हलमा छिर्दा मलाई अचम्मै लागेको थियो । त्यो फिल्म त मैले खासै बुझिनँ तर नयाँ अनुभूति लिएर हलबाट बाहिरिएँ । पछि काठमाडौं पढ्न आएपछि नेपाली फिल्म पनि हेरियो । पञ्चायती व्यवस्थाकै बेला राजनीतिमा लागेकाले फिल्म हेर्ने फुर्सद खासै निस्कँदैनथ्यो । कहिलेकाहीँ साथीभाइ मिलेर हेर्न जान्थ्यौँ । कीर्तिपुरमा होस्टल बस्थ्यौँ । कमन रुममा एउटा टिभी राखेका थियौँ हामीले । साँझ ५, ६ बजेतिर सुरु हुन्थ्यो टिभीमा कार्यक्रम । त्यो भन्दा पहिले नै सिट बुक भइसकेको हुन्थ्यो । लगभग राति १० बजेसम्म टिभीका कार्यक्रम हेथ्र्याैं । ‘महाभारत’ खुब चल्थ्यो त्यतिबेला । ‘महाभारत’ आउने दिन टिभी कोठा खचाखच हुन्थ्यो । हामी कोचाकोच बसेर ध्यानपूर्वक यो धार्मिक सिरियल हेथ्र्याैं ।
त्यतिबेला मनोरञ्जनको साधन भनेकै टिभी थियो । पछिल्लो समय मनोरञ्जनका धेरै साधन आए । विकल्प आए । सिनेमा हेर्न हल नै जानुपर्ने अवस्था पनि अब रहेन । पहिले स्वयम्भूका साथीहरु मिलेर फिल्म हेर्न जाने गथ्र्याैं । अहिले खासै गइँदैन । पहिला सीमित हल थिए, अहिले सुविधासम्पन्न हलहरु ठूलो संख्यामा छन् । अहिले त मन परेका फिल्म, गीत, छोटा फिल्महरु युटुबमा पनि हेर्न पाइन्छ । टिभी च्यानल पर्याप्त छन् । टिभी च्यानलमा पहिले चलचित्र हेरिन्थ्यो, प्रायः हिन्दी चलचित्र । अहिले खासै हेर्दिनँ । नेपाली चलचित्रमा पछिल्लो समय गुणस्तर कायम हुन थालेको छ । कथावस्तु, गुणस्तर बढ्दै छ । त्यसो हुँदा नहेर्ने नै भन्नेचाहिँ छैन । तर अझै पनि विविधता ल्याउन जरुरी देख्छु म । मनोरञ्जन अब एउटा क्षेत्र मात्र रहेन, ठूलो उद्योग भएको छ । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा धेरै यस क्षेत्रमा लागेका छन् । यसलाई राम्रो बनाउनु, फस्टाउनु, सुरक्षित गर्नुपर्ने कुरामा थप नीतिनियम बनाएर प्रोत्साहन गर्न जरुरी छ ।
पछिल्लो समय ‘छक्कापन्जा’ हेरेको थिएँ । ‘पञ्चायत’ पनि हेर्न गएँ । नाम ‘पञ्चायत’ भए पनि सामाजिक विषय उठाइएको रहेछ । महिलामाथि हुने विभेद, हिंसाका बारेमा रामै्र उठान गरिएको पाएँ । फिल्मका गीतहरु प्राय टिभीमा हेरिन्छ । अलि चर्चा भएका फिल्म हेर्न गइन्छ । साथीभाइले बोलाउँदा पनि गइन्छ । नत्र धेरै फिल्म हेर्ने आदत छैन मेरो ।
पछिल्लो समयमा परिवर्तन आएको देखिन्छ । कलाकारले प्राप्त गर्ने रोयल्टीलगायतमा नयाँ कानुन बनेका छन् । सञ्चार मन्त्रालय मातहत छ, चलचित्र विकास बोर्ड जसले नियमकानुन बनाउनेजस्ता कुरामा पहल गर्छ । विज्ञ व्यवसायीहरु सबैले नेपाली लगानीलाई प्रोत्साहनका लागि के गर्न सकिन्छ, त्यतातिर सोच्नुपर्छ । चलचित्र, साहित्य, भाषाले देशलाई एकीकृत गर्छ । त्यसैले यो मनोरञ्जन क्षेत्र मात्रै हैन । त्यसकारण सरकारलाई पनि हामी भन्छौँ, आवश्यक कानुन निर्माण गर्नुपर्छ अब ।
राजनीति भनेको राजनीतिक कुरा मात्रै होइन । यसमा फिल्म पनि समेटिन्छ । जसको कारण विश्वमा नेपाल चिनिन्छ । डकुमेन्ट्रीले नेपाललाई चिनाइरहेको छ । अर्काे, विश्वव्यापी रुपमा दर्शक रहेका छन् । भुटानी, भारतीसमेत नेपालीभाषी छन् । झन्डैझन्डै विश्वमा ५ करोड नेपाली भाषाका दर्शक छन् । राम्रो फिल्म बनाएर देशलाई विश्वमा चिनाउन सकिन्छ । अब प्राथमिकतामा पर्नुपर्छ चलचित्र क्षेत्र ।
गीत, डकुमेन्ट्रीहरु हेर्ने गर्छु । खेल्ने, उफ्रने पनि छँदै छ । नाटक पनि हेर्ने गरेको छु साथीहरुसंग । विशेषगरी सुनील पोखरेलका । अनि फुटबल र क्रिकेट हेर्ने गर्छु । क्रिकेट बिस्तारै बुझ्दै छु र यसमा फसेँ भन्ने गर्छु म । फुटबलमा खुट्टामा गोल हुँदा मात्रै उत्साह आउँछ तर क्रिकेटमा प्रत्येक बल एक्साइटमेन्ट बोकेर आउँछ ।
मदनकृष्ण र हरिवंशको अभिनय एकदम मन पर्छ । उहाँहरु अमेरिका, बेलायतमा जन्मेका भए विश्व कलाकार बन्नुहुन्थ्यो । चार्ली च्याप्लिनको हैसियतमा पुग्न सफल हुनुहुन्थ्यो । राजेश हमाल, गौरी मल्ल धेरै राम्रा कलाकार हुन् । अनमोल केसी मायालाग्दा छन् । प्रयास गर्दा राम्रो गर्न सक्छन् । सानो उमेरमै आएकाले यिनले प्रगति गर्न सक्छन् ।
अहिले नेपालमा पनि फिल्म विषय पढाइ हुन थालेको छ । अब आउने कलाकार निखारिएर आउने विश्वास गर्न सकिन्छ ।