मदनकृष्णले यसरी गरेका थिए ‘दुइटा’ बिहे !

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कलाकारितालाई अघि बढाउने क्रममा हरिवंश आचार्यसँग जोडी बाँधे । महजोडीको ‘मह’ का रुपमा कला जगतमा यो जोडी खुब जमेन मात्र, पुस्तो चर्चित पनि भयो । उनै मदनकृष्णले आफ्नो जीवनयात्रा सफल पार्न भने ‘दुइटा’ बिहे गरे ! उनको लभ अफेयर्स र ‘दुइटा’ बिहेको रोचक प्रसंग उनी कहिल्यै भुल्न सक्दैनन् ।
‘केटी खोज्दै अफिसका टेबुल–टेबुल चहारेँ’

मदनकृष्ण कर्मचारी सञ्चयकोषमा जागिर खान्थेँ । एकपटक कोषले एकैपटक ६० जना सहायक स्तरका कर्मचारी माग गरेको थियो । त्यसमा आवेदन गरेका ४०० मध्ये ४ जना केटी र ५६ जना केटा छनोट भएर काममा भर्ती भए ।
मदनकृष्णमा उखरमाउलो वैंश चढिसकेको थियो तर बिहे भएको थिएन । उनी केटीतर्फ स्वाभाविक रुपले आकर्षित हुन थालेका थिए । यही बेला अफिसमा भर्ना भएका नयाँ केटी कस्ता होलान् भन्ने कुतकुतीले उनको मन पिरलिरहेको थियो । उनी टेबुलटेबुल चहार्न थाले, केटी हेर्न । एउटी पुण्डरी आचार्य भन्नेले नाम निकालेको उनलाई थाहा थियो । पुण्डरी कस्ती होली भनेर खोज्दै जाँदा उनले भेट्न त भेटे तर उनी केटी नभएर केटा पो रहेछन् । मदनकृष्ण हिस्स परे । तर यो क्रम उनले रोकेनन्, बाँकी ४ केटीको तलास गरी नै रहे । यही क्रममा उनले यशोदा सुवेदीलाई आफ्नै टेबुलको सामुन्ने काम गरिरहेको पाए । यशोदा पहिलो दृष्टिमै उनलाई परीजस्ती लाग्न थाल्यो ।
अन्ततः मदनकृष्णको खोजी त्यहीँ रोकियो । उनी यशोदाप्रति आकर्षित होइन, मोहित नै भएका थिए । अब कसरी उनीसँग बोल्ने र नजिकिने भन्ने ध्याउन्न थियो ।

बिस्तारै बोलचाल र गफगाफ सुरु भयो । दुवै जना नजिकिँदै गए । हुँदाहुँदा दुवैमा प्रेम टुसाउन थालिसकेछ, एकले अर्कालाई नदेख्दा नियास्रो मान्न थाले ।
मदनकृष्ण एक किसिमले यशोदाप्रति पागल नै भइसकेका थिए । यशोदामा पनि हालत खराब हुँदै थियो । अब दुई एक हुने दिनको प्रतीक्षा हुन थाल्यो । तर त्यसमा ठूलो तगारो थियो– जातको ।
मदनकृष्ण नेवार, यशोदा बाहुन । कसरी हुन सक्छ बिहे ? दुवैको साझा चिन्ता यही थियो । बिस्तारै मदनकृष्णका बुबाले यो कुरा थाहा पाएछन् । उनले छोरालाई चेतावनी दिएछन् कि सुवेदी थरकी केटीसँग प्रेममा फसेको छस् रे, त्यसलाई भगाएर ल्याइस् भने तेरोमेरो सम्बन्ध चट् । मदनकृष्ण जे त होला भनेर अघि बढिरहे, प्रेमको डोरी बाटिरहे ।

एकदिन दुईबीच गम्भीर सल्लाह भयो, भागीबिहे गर्ने । बिहे त गर्ने तर कसरी ? निकै गाह्रो थियो । मदनकृष्ण काठमाडौं, जितपुरफेदीका प्रधानपञ्च रामकृष्णका छोरा । यशोदा र मदनकृष्णको सम्बन्धबारे उनका केही साथीहरुलाई थाहा थियो । उनीहरु दुवैले आफ्नो योजना साथीहरुलाई सुनाए र सहयोगको आग्रह गरे । साथीहरु पनि जोडी बाँधिदिन तयार भए । न्युरोडको झोंछेमा डेरा खोजियो, दुलही राख्ने । कोठामा आवश्यक सामग्री साथीहरुले उधारोमै जोरजाम गरिदिए ।
अन्ततः भक्तपुर सूर्यविनायकमा तीस जनाजति साथीहरुबीच यशोदालाई मदनकृष्णले सिँदुर हाले । उनैले ल्याएको औंठी यशोदालाई लगाइदिए । के लगन, के साइत, लौ बिहे त सकियो । दुवैतर्फका घरपरिवारमा सुइँकोसम्म भएन ।

केही समयपछि दुवैतिर उनीहरुले बिहे गरेको कुरा थाहा भयो । मदनकृष्णका बुबाले सोचे, आखिर बिहे त गरिहाले, अब पछुताएर के गर्ने ? यिनीहरुको जोडी बाँधिदिनुपर्छ भनेर भेट्ने चाँजोपाँजो मिलाए । अनि परम्परागत शैलीमै बिहे गराएर घर भित्र्याए ।
यसरी उनीहरुको दुईपटक बिहे भयो । दुईपटक बिहे भएको कुरालाई कसैले बंग्याइदिएछ र मदनकृष्णले त दुइटी बिहे गरेको छ भनेर हल्ला फिँजाइदिएछ । त्यसमा कसैले थपेछ, एउटी श्रेष्ठ थरकी, अर्की सुवेदी । यो हल्ला यशोदाको माइतीघरसम्मै पुगेछ ।
त्यति मात्र कहाँ ? मदनकृष्णकी बहिनीलाई पनि कसैले सुनाइदिएछ, ‘तिम्रो दाइले त दुइटा बिहे गरेको छ रे !’ यशोदासँग एकपटक भागेर, अर्काेपटक सहमतिमा दुईपटक बिहे गरेको कुरालाई कुरौटेहरुले हुँडलिदिएछन् र दुइटी बिहे गरेको हल्ला फिँजाएछन् । सबैलाई हँसाउन माहिर मदनकृष्णलाई यसले भित्रभित्रै हाँसो मात्र उठेन, रिस पनि उठेको थियो ।