‘अरबौं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे’

दिपेन्द्र घिमिरे –  श्रीमान् श्रीमतिको सम्बन्धमा सम्भवतः संसारभर सबैभन्दा बढी जोक भेटिन्छन् । यो सम्बन्ध नै त्यस्तै । त्यसैले कसैले यसलाई टम एण्ड जेरीसँग तुलना गर्ने गरेका छन् त कसैले माछा र पानीसँग । तर, कलाकार मदनकृष्ण श्रेष्ठले श्रीमति यशोदा सुवेदीलाई सधैंभरि आदर्श पत्नीको रुपमा चित्रित गरेका हुन् । मदनकृष्ण श्रेष्ठले ‘महको म’ विमोचन कार्यक्रममा पुस्तक सक्न लामो समय लाग्नमा यशोदाको बिरामी मुख्य कारण रहेको बताएका थिए । सो कार्यक्रममा उनले भनेका थिए, ‘पुस्तक लेख्न सुरु गर्ने बित्तिकै यशोदा बिरामी भइन् । उनलाई धेरै समय अस्पताल राख्न पर्यो । यसका धेरै च्याप्टर अस्पतालमै लेखिएका हुन् ।’
आफैं पार्किन्सनका रोगी मदनकृष्ण श्रेष्ठ पछिल्लो समय सार्वजनिक कार्यक्रममा विरलै देखिन्थे । यदाकदा आए पनि ‘यशोदा बिरामी छ’ भनेर चाँडै निस्कन्थे । उनले ‘महको म’ धेरै च्याप्टरमा यशोदासँगको सम्बन्ध र क्यान्सर लागेपछिको अवस्थालाई वर्णन गरेका छन् । त्यो पुस्तक पढिरहँदा पनि मदनकृष्ण श्रेष्ठले यशोदालाई कत्ति माया गर्थे भन्ने थाहा पाउन सकिन्छ । उनले यशोदालाई क्यान्सर भएको थाहा पाएको दिन रातभर नसुतेको र रोएर रात कटाएको वर्णन गरेका छन् ।

‘अस्पतालबाट फर्किएको रात ठूलो छटपटीका साथ बिताएँ । अरुबेला कुनै दुःख पर्दा या कुनै गाह्रो साह्रो हुँदा यशोदालाई नै दुःख पोखेर हल्का पार्थें ।तर सबै पीर एक्लैले बोकेर त्यो रात कटाउन पर्यो ।राति धेरै पल्ट ब्युँझिएँ,धेरै पल्ट रोएँ । म रोएका थाहा पाउलिन्, रुवाइको आवाज सुन्लिन् भनेर आँसु पुछ्दै ट्वाइलेट जान लागेजस्तो अर्को कोठामा गएर रोएँ ।’

सोही किताबमा अर्को एक प्रसंगमा मदनकृष्ण श्रेष्ठले यशोदाको लामो आयुका लागि ५ वर्षदेखि बर्त लिँदै आएको बताएका थिए ।
‘एक पल्ट गायिका आनी छोइङ डोल्माले होटल द्धारिकाजमा गरेको सानो डिनर कार्यक्रममा साथीहरु तीजको ब्रतको कुरा गरिरहेका थिए । श्रीमानको आयु बढ्छ भन्ने विश्वासका साथ नारीहरु ब्रत बस्छन् । उनीहरुको कुरा सुनेर मैले भनेको थिएँ , ‘म त श्रीमतिको आयु बढाउन ५ वर्षदेखि ब्रत बस्दै आएको छु ।’ मेरो कुरा सुनेर आनीले भनेकी थिइन् ,‘हो दाइ सबैको तपाईँ जस्तो श्रीमान् हुने हो भने यहाँ कोही पनि आनी बन्न पर्दैन ।’

मदनकृष्ण श्रेष्ठको यशोदाप्रतिको प्रेम कुन तहको थियो भन्ने कुरा उनले गाएको एउटै गीतले पुष्टि गर्छ…

अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे देख्दा
संसार नै भुल्ने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे

तराजुमा राखेर धेरै पल्ट
यो दुनिँयालाई मैले जोखेको छु
सहानुभुती को आसा गरेर रुदै
बेर्थै बेदना पोखेको छु
देखेर मानिसको मतलबी चाला
रुँदा रुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि
तिमी छट्पटाइ हाल्ने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे

म निर्धन निर्बल र बेअर्थको
पानी बिहिन खोला
म सायद त्यो अस्तित्व हिन मान्छे
मेरो महत्व के होला
केहि छिन त तै पनि हाँसेरै जिउछु 
तिमी साथ भएको बेला
मेरो मृत्यु को खबर सुन्दा यहाँ
तिमी एकछोट रुने मान्छे

यो गीत मात्रै कहाँ हो र ‘खोला वारी खोला पारी पिपलु र बर, हावा चल्यो पात हल्यो माया वर वर‘ गीत पनी उनले पत्नी यशोदा कै लेखेका थिए ।

फोटो : बिनोद पोखरेल (मेरोफिल्म )