डण्डीबियोको क्रान्ति यहीँबाट सुरु हुन्छ, ‘डमरुको डण्डीबियो’ ट्रेलर

केही समय अगाडी सम्म नेपालको राष्ट्रिय खेल रहेको डण्डीबियोलाई सरकारले राष्ट्रिय खेलबाट हटाए पछी एक पात्र त्यसको क्रान्तिमा लाग्छ । अनेकन बाधा अड्चन आइपर्छ उसलाई । घर-परिवार, साथी-सङ्गी, समाज सबैले उसलाई एक्लाउँछन तर उ निरन्तर लागिरहन्छ उसको पाहिला रोकिन्न । डण्डीबियोको मैदान छोड्दैन उसले । त्यही एक प्रमुख पात्रको वरीपरी घुमेको कथा हो फिल्म ‘डमरुको डण्डीबियो’ ।

नेपाली युवा पिंढीमा चर्चित नेपाली फिल्म ‘नोवेम्बर रेन’, ‘क्लासिक’ र ‘डायरी’ जस्ता फिल्महरुमो कथा–पटकथा लेखेर चर्चामा आएका नव निर्देशक छेतेन गुरुङले निर्देशन गरेको यस फिल्ममा पछिल्लो समयमा कहलिएका कलाकारहरु अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, लगायतको मुख्य भूमिका रहेको छ । अन्य कलाकारहरुमा नमिता घिसिङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका रहेका छन् । विनोद गुरुङ र सुमी श्रेष्ठ घले निर्माता रहेको यो फिल्म ‘डमरुको डण्डीबियो’ को कथा नायक खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटाको रहेको छ । फिल्मको छायांकन लम्जुङको ‘घले गाउँ’ र काठमाडौं उपत्यकाभित्र गरिएको छ । सम्बृद्धि इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित फिल्म बैशाख २१ गतेबाट रिलिज हुँदै छ ।