पलायन वा लङ ब्रेक ? पर्दामा फर्केला त जादु ?

समय सधै एकनासको हुदैन । र आफुले चाहेको जस्तो पनि हुदैन । हरेक कुराको निश्चित अवधि हुन्छ । कुरा फिल्मी नायकहरुको हो । हो, कुनै बेला नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका कतिपय नायक अहिले भने गुपचुप र गुमनाम जस्तै छन् ।

नयाँ कलाकारको आगमन र उनीहरूप्रति दर्शकको क्रेज बढ्दै गएकाले पनि पुराना कलाकारहरू फिल्ममा देखिन छाडेका छन् । दर्शकले पुरानो शैलीका नायकहरु अग्लो कद, मिलेको शरीर, लामो/लामो कपाल मात्र भएकालाई नायक मान्न छोडेका छन् । अभिनयको दम भएका कलाकार अहिले हिट छन् । चाहे उनीहरुको शरीर मोटे भएर अनुहार पनि नराम्रै होस् ।
आज हामी यस्ता नायकको चर्चा गर्दैछौं जो कुनै समय हिट थिए तर अहिले फिल्मबाट टाढा छन्,
राजेश हमाल


नेपाली फिल्म जगतमा महानायकको उपमा पाएका नायक हुन्, राजेश हमाल । उनले नेपाली फिल्म क्षेत्रमा लामो समय राज गरे । स्वर्गीय दीपक रायमाझी निर्देशित फिल्म युगदेखि युगसम्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हमालले धेरै सफल फिल्म दिइसकेका छन् । हमालले कसम, गोरेटो, हामी तीन भाइ, अपराध, देउता, भाउजु, बसन्ती, अल्लारे, कृष्ण अर्जुन लगायत १७० बढी फिल्ममा अभिनय गरेका छन् ।
कुनै एउटा समय थियो, जुन बेला राजेशको टाउको बिक्थ्यो । मतलब, जुन फिल्मको पोष्टरमा उनको टाउको देखिन्थ्यो, दर्शकको भीड त्यस्तै लाग्थ्यो । तर, अहिलेको त्यो अवस्था देखिँदैन । हमाल अहिले फिल्म क्षेत्रबाट टाढा छन् । हमालका पछिल्लो समय प्रदर्शनमा आएका फिल्म वाग्मती र शकुन्तला दुवै फ्लप भए । फिल्म फ्लपको डर र दर्शकले उनलाई पत्याउन छाडेको भान उनमा भयो होला, उनी अहिले फिल्म क्षेत्रबाट अलिक टाढा छन् ।
विराज भट्ट

एक्सन नायकको छवि बनाएका विराज भट्ट अहिले नेपाली फिल्म क्षेत्रबाट टाढा छन् । फिल्म अग्निपथबाट नेपाली फिल्ममा डेब्यु गरेका विराजले हिम्मत, देवरबाबु, खलनायक, डन, तकदिर जस्ता धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन् । कुनै समय उनको स्टारडमकै कारण पनि फिल्म सफल हुन्थे । उनको एक्सनका फ्यान पनि धेरै थिए तर नेपाली दर्शकले उनलाई खोजिरहँदा नै उनी भोजपुरी फिल्ममा अभिनय गर्न थाले र नेपाली फिल्म छाडे।
गत वर्ष विराजले नेपाली फिल्म क्षेत्रमा कम ब्याक गरे, फिल्म जय पर्शुरामबाट उक्त तर फिल्म फ्लप भइदियो। विराजलाई दर्शकले रुचाएनन् । त्यसैले पनि अहिले विराज पुन: नेपाली फिल्म क्षेत्रबाट अलप जस्तै बनेका छन् । तर उनी भोजपुरी फिल्ममा व्यस्त छन् ।
दिलिप रायमाझी

सुपरहिट चलचित्र दर्पण छायाँ, धन सम्पत्ति, लहना, अग्नि, उहिले बाजेको पालामा, सुपरस्टार लगायत फिल्ममा सफल अभिनय गरेका नायक दिलिप रायमाझीले नेपाली फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका थिए । आफ्नो अभिनयको प्रभावले लामो समय चर्चामा रहेका यी नायक रायमाझी आजभोलि भने फिल्ममा सकृय छैनन् ।
चकलेटी नायकको छवी बनाएका दिलिप केही समयको लागि अमेरीका पलायन भए । तर हाल उनी नेपालमा नै छन् । उनी अहिले एक डान्स रियालिटी शो ‘बुगी उगी’को जज बनेर काम गरिरहेका छन् । उनलाई नाच्न सिपालु नायकको रुपमा चिनिन्छ ।
जीवन लुइँटेल

नायक जीवन लुइँटेल पनि अहिले फिल्म क्षेत्रबाट टाढा छन् । फिल्म क्षेत्रमा उनको उपस्थिति पातलो हुँदै गएको छ । धेरै सफल फिल्ममा काम गरेका जीवनका पछिल्ला फिल्महरू असफल भएसँगै उनी फिल्म क्षेत्रबाट टाढा देखिन थालेका छन् । फिल्म तिर्खाबाट फिल्म क्षेत्रमा डेब्यु गरेका उनले धेरै सफल फिल्ममा काम गरेका छन् । उनले अभिनय गरेका नाइँ नभन्नू ल, सानो संसार, कसम हजुरको, अन्दाज, ठूली, राधा आदि सफल फिल्मको सूचीमा पर्छन् ।
तर, पछिल्लो समय उनी अभिनित फिल्मले कुनै तहल्का मच्चाउन सकेका छैनन् । काफल पाक्यो, भुलभुलैया, सुब्बा सापु लगतार फ्लप भए, जसले गर्दा उनको स्टारडम ओरालो लागेको अनुमान लगाउन सकिन्छ । अहिले जीवन कुनै फिल्ममा काम गर्दै छैनन् ।
रमित ढुंगाना

लामोलामो कपाल अनि मिलेको अग्लो शरीर, नायक रमित ढुंगानाको पहिचान थियो । धेरै सफल फिल्ममा काम गरेका उनी फिल्म क्षेत्रमा निकै रुचाइका नायकमा पर्थे । तर रमित लामो समयदेखि फिल्ममा देखिएका छैनन् । फिल्म माया नमारबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले धड्कन, शक्ति, जीवन मृत्यु, देवर बाबु, बिदाइ, दुर्गा, धुमलगायत धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन् ।
पछिल्लो समय रमितले फिल्म बुद्ध बर्न इन नेपालु फिल्म बनाए । उक्त फिल्ममा उनी आफैँ मुख्य भूमिकामा प्रस्तुत भएका थिए तर फिल्म चलेन । त्यसयता रमित कुनै फिल्ममा देखिएका छैनन् ।
राजवल्लभ कोइराला:-

नायक राजवल्लभ कोइराला पनि फिल्म क्षेत्रमा रुचाइएका नायक हुन् । तर उनी लामो समयदेखि नेपाली फिल्मको पर्दामा देखिन छोडेका छन् । रेडियोकर्मी हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका राजवल्लभले पनि धेरै सफल फिल्ममा अभिनय गरिसकेका छन् । पर्खी बसेुंबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले छाडी गए पाप लाग्ला,  ऋतु, किन लाग्छ माया,  पल, अपवादुलगायत फिल्ममा अभिनय गरिसकेका छन् । उनले हलिउड फिल्म ‘हाइवे टु धम्पुस’मा समेत अभिनय गरेका छन्।
फिल्म क्षेत्रबाट टाढा रहेका राजवल्लभ लामो समयदेखि अमेरिका बसोवास गर्दै आइरहेका छन् । उनले हालै मात्र अमेरिकामै विवाह गरेका छन् ।
धीरेन शाक्य

धीरेन शाक्य लामो समदेखि फिल्मको पर्दामा देखिएका छैनन् । चट्टान, सिमाना, मैले भुल्नै सकिन, दाग, जमिन, दुश्मनी, ज्वालामुखी लगायत फिल्ममा अभिनय गरेका धीरेन कुनै समय एकदमै चर्चित थिए । म्युजिक भिडियोमा पनि उत्तिकै चर्तित उनी अहिले भने लगभग गुमनाम बनिसकेका छन् ।
सुमन सिंह

सुमन सिंह पनि कुनै समय चलेको नाम हो । एक समय उनका फ्यान फलोअर्स पनि धेरै थिए । फिल्म नगरीमा उनको चकलेटी लुक्सको चर्चा नै हुनेगर्थ्यो । उनले द गेम, प्रेमिका, तिम्रो लागि, सम्झिराख है लगायत फिल्ममा अभिनय गरेका छन् ।
तर केही वर्ष यता भने सुमन फिल्म क्षेत्रबाट गुमनाम जस्तै छन् । उनी अभिनित फिल्म पर्दामा नआएको धेरै समय भइसकेको छ ।
यी केही प्रतिनिधि अनुहारहरु मात्र हुन जो कुनै समयका हिट लिस्टेड थिए । यी नायकहरु साँच्चै पलायन भएकै हुन की उनीहरु लङ ब्रेकमा छन त्यो त उनिहरुलाई नै थाहा होला । तर पछिल्लो समय फिल्ममा नदेखिएका यी अनुहारहरुलाई दर्शकले पक्कै पर्दामा हेर्न पर्खिरहेका छन । के उनिहरुको अभिनयको जादु अब पर्दामा फर्केला त ?
फोटो : संबन्धित व्यक्तिको फेसबुकबाट