वर्षका हिट फिल्म : कस्ता चले ? किन चले ?

जनावरमध्ये सर्वाधिक चंखे र बाठो मानिने स्यालको सिङ देख्नुलाई दुलर्भ संयोग मानिन्छ । स्यालको सिङ त्यतिबेला मात्र देखिन्छ जब यो कराउँछ । शास्त्रीय मान्यता अनुसार जसले यसरी कराउँदै गरेको स्यालको सिङ देख्छ त्यो मानिस भाग्यमानी हुन्छ । स्याल सिङको यो किस्सा नेपाली फिल्मको सवालमा दुरुस्त मिल्छ । स्यालको सिङ भाग्यमानीले मात्र देखे झैं नेपाली फिल्मको कमाइको वास्तविक आँकडा पनि थोरै भाग्यमानीले मात्र हेर्न पाउँछन् । त्यसैले नेपाली फिल्ममा हिट वा फ्लपको कुरा गर्दा, निश्चित छ, तथ्यांक कम अनुमानको ज्यादा कुरा हुन्छ । यस हिसाबले पनि हिट वा फ्लपको कुरा गर्नु, अनुमानको खेति गर्नु सो सरह नै हुन्छ । यसैले हामी यो लेखमा कुन फिल्मले कति कमायो भनेर लेखाजोखा गर्दैनौं, बरु यो वर्ष कस्ता फिल्म चले र किन चले भन्ने विषयमा छलफल गर्नेछौं ।
कार्टुनिस्ट : अभिषेक दास
नेपाली फिल्मको भविष्य र गन्तव्यका बारेमा विगत केही वर्षयता व्यापक बहस हुँदै आएको छ । कस्ता फिल्म बनाउने र कुन फिल्म चल्छन् भन्ने विषयमा पनि केही वर्षयता निर्माता निर्देशकले चिन्तन गर्ने क्रम जारी छ । यो साल पनि चिया गफमा धेरै निर्माता निर्देशकले आफ्नो चिन्ता र चासो प्रकट गरिरहे तर निष्कर्षमा पुग्न सकेनन् । त्यसका बावजुद अँध्यारोमा झट्टी हान्दै सही थुप्रैले सही निशाना लगाएका छन् । पछिल्ला वर्षको तुलनामा कमाउने फिल्मको संख्यामा यो साल उल्लेख्य उछाल देखिएको छ । अनुमानित आँकडा अनुसार यो साल आधा दर्जन फिल्मले स्पष्ट मुनाफा कमाए भने सोही संख्याका फिल्मले गरेको लगानी उठाए । अनि थोरै घाटा खाने मामलामा पनि यो वर्षका फिल्मको प्रतिशत उच्च रह्यो ।
एक समय थियो नेपाली फिल्ममा निर्माताले लगानी उठाउनु भनेको आकाशको फल भुइँमा झार्नु झैं थियो । निर्माताहरु व्यवसाय गर्नेभन्दा रहरले फिल्म बनाउँथे र रहर पूरा गरेर दोस्रो फिल्म नबनाउँदै पलायन हुन्थे । यो साल पनि रहर ले नै फिल्म बनाउने निर्माताको ताँतीमा त खास कमी देखिएन तर पुराना निर्माताहरुसँगै बीचमा विश्राम लिएका निर्माता पनि निर्माणमा सक्रिय भएपछि उद्योगले फिल्मका लागि नयाँ निर्माताको मात्र भर पर्नु परेन । योसँगै उद्योगले यो साल अघिल्लो सालभन्दा ज्यादा हिट फिल्म पायो ।
यो साल सबैभन्दा धेरै ६ फिल्म हिट भए र सोही हाराहारीका फिल्मले लगानी सुरक्षित गर्न सफल भए । समग्रमा पनि फिल्मबाट गुमाउने निर्माताको प्रतिशतमा उल्लेख्य कमी आएको देखियो । यो साल रिलिज भएका फिल्ममध्ये सर्वाधिक कमाउनेमा ‘छक्का पन्जा २’ अगाडि रह्यो । वर्षको अन्त्यमा रिलिज भएको ‘लिली बिली’ले कति कमाउँछ र चौथो हप्तामा प्रवेश गरेको ‘शत्रु गते’ कति लामो समय जान्छ भन्ने टुंगो नभए पनि अहिलेका लागि ‘छक्का पन्जा २’ नै सर्वाधिक कमाइ गर्ने फिल्मको रुपमा रहेको छ, यसमा विवाद नरहला । पहिलो भागको क्रेडिटसहित दसैंको मुखमा रिलिज भएको ‘छक्का पन्जा २’ आक्रामक कमाइ गर्दै १५करोड ग्रस गरेको निर्माताको दाबी छ । जबकि यो फिल्मको पहिलो भागले १६ करोड व्यापार गरेको अनुमानित आँकडा छ । ‘छक्का पन्जा’पछि कमाउनेमा लगभग यही फिल्मका कलाकारको अभिनय रहेको ‘शत्रु गते’ अगाडि देखिएको छ । माथि पनि भनिएको छ कि यो फिल्म अझै हलमा चलिरहेको छ तर कमाइमा कति अगाडि जान्छ त्यो केही दिनमै तय हुनेछ ।

यसैगरी यो साल लगानी उठाएर निर्मातालाई मुनाफा दिने फिल्ममा ‘दुई रुपैंया’ तेस्रो नम्बरमा रहन सफल भयो । यो सालका सफल अन्य फिल्ममा ‘प्रेमगीत २’, ‘ ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु’ आदि पर्दछन् । यी बाहेक ‘घामपानी’, ‘फाटेको जुत्ता’, ‘मिस्टर झोले’ र ‘कान्छी’लाई पनि आफ्नो लगानी सुरक्षित गर्न सफल फिल्मको रुपमा लिइएको छ ।
किन चले ?
माओवादी जनयुद्धको लोकतान्त्रिक अवतरणसँगै नेपालका टेलिभिजनमा हास्य सिरियलको बाढी लागेको थियो । पीडा भुलेर खुशी हुन खोजिरहेका आम मानिसको मनोविज्ञानलाई यस्ता सिरियलले मज्जाले क्यास गर्न सफल भएका थिए । यही समयमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल सानो पर्दाको दायरा छिचोलेर सर्व वर्गको मनमा बस्न सफल भएका थिए । पछि टेलिभिजनमा हास्य सिरियलको क्रेज त पहिलो जस्तो रहेन तर सोही समयमा बनेको हास्य कलाकारको क्रेज भने यथावत रह्यो । जब यही क्रेज लिएर हास्य कलाकारको समूह निर्माणमा उत्रियो, सानो पर्दामा हेर्न नपाएको न्यास्रो ठूलो पर्दामा हेरेर मेटाए । यसको मतलब यो होइन कि दर्शकले सहानभूतिले उनीहरुको फिल्म हेरे । उनीहरुका फिल्म यस कारणले हेरे, सानो पर्दामा झैं यहाँ पनि दर्शकलाई सबै कुरा भुलेर २ घन्टा हलमा बाँधेर राख्न सफल भए । सिरियलमा छँदै दर्शकको नाडी छामेका उनीहरुले ठूलो पर्दामा पनि दर्शकलाई निराश बनाएनन् । एक पछि अर्को हिट चलचित्र दिँदै गए । गत सालको ‘छक्का पन्जा’ सफलताको यो सिलसिलाको उच्चतम् विन्दू थियो । यो फिल्मको सफलताले नै हो हास्य शैलीका फिल्म चल्छन् भन्ने मान्यतालाई बलियो बनाएको । ‘कबड्डी’ सिरिजले सूत्रपात गरेको शैली पनि छँदै थियो, बस के थियो, निर्देशकले जुनसुकै विधाको फिल्म बनाउन कमेडी अनिवार्य मसला बन्यो । रोमान्टिक फिल्ममा पनि हिरोले रोमान्स गर्ने र हिरोइनसँग गीत गाउने अनि सहायक कलाकारले उसको दायाँ बायाँ रहेर पन्च लाइन बोल्ने ।

यत्ति चर्चा गरेपछि थाहा हुन्छ, यो साल चलेका फिल्म किन र के कारणले चलेभन्दा यही छक्का पन्जा र कबड्डीको सूत्र तजवीजपूर्वक प्रयोग गरेका कारणले चले । यो साल हिट भएका फिल्मको लिस्टमा ‘प्रेमगीत २’ मात्र यस्तो फिल्म होला जसको कमेडी कमजोर थियो । तर यसमा पनि कमेडी हुँदै नभएको भने होइन । यो फिल्ममा पनि हिरोको साथीहरुको सानो झुण्ड राखेर कमेडी गराउने प्रयास गरिएको थियो ।
जसरी यो सालका हिट फिल्ममा कमेडी समान रुपले देख्न सकिन्छ, यी फिल्म हिट हुनमा संगीतको पनि उत्तिकै ठूलो हात रहेको देख्न सकिन्छ ।
‘छक्का पन्जा २’ होस् वा ‘शत्रु गते’ वा ‘ए मेरो हजुर २’ नै किन नहोस् हिट फिल्मको पगरी त्यही फिल्मले मात्र गुथ्न पाएका छन् जसका गीत पनि हिट भएका छन् । यति भएपछि यो साल पनि फिल्म चल्नमा कमेडीसँगै हिट गीत पनि जरुरी रहेको देख्न सकिन्छ । अर्थात यो साल ती फिल्मले बक्स अफिसमा पैसा बर्साएका छन् जसले यो कमेडी र संगीतलाई मज्जाले ब्लेन्ड गर्न सफल भएका छन् ।
फिल्म चल्नु उद्योगको विकासका लागि सुखद कुरा हो । तर यो साल हिट भएका फिल्मको प्रवृत्ति हेरेर भने उद्योगले आफूलाई खुशी हुनबाट रोकेकै राम्रो । माथि उल्लेखित फिल्म राम्रा भएर चलेका होइनन्, रमाइला भएर चलेका हुन् । तर उद्योगको दीर्घताका लागि रमाइला मात्र होइन, राम्रा फिल्म बन्न र तिनले राम्रो व्यापार पनि गर्न जरुरी छ ।