एनएफडिसी अवार्ड, गर्नेलाई भन्दा हेर्नेलाई लाज

श्रीधर पौडेल  सामान्यतया मनोनयनसहितका अवार्डमा दुइटा परिणाम हुन्छन् । अवार्ड पाउने खुशी हुन्छन्, नपाउने दुःखी । तर बिहीबार राति हायात रिजेन्सी होटलमा सम्पन्न एनएफडिसी अवार्डको छैटौं संस्करणमा भने न पाउने खुशी थिए न नपाउने दुःखी । यस्तो अवस्था त्यतिबेला आउँछ जब अवार्डको गरिमा बाँकी रहन्न । अझ बिहीबार गोपीकृष्ण मुभिजको व्यवस्थापनमा भएको अवार्डको व्यवस्थापन हेर्दा त सजिलै प्रश्न उठ्छ, यस्ता अवार्ड किन र कसका लागि हुन्छन् ? जनताकै समेत स्वामित्व रहेको चलचित्र विकास कम्पनीले गर्ने अवार्डको हैसियत यत्ति नै हो ?

मौसमको ख्याल नगरी खुल्ला ठाउमा अवार्ड आयोजना गर्ने मात्र होइन पानी परेपछि पनि आयोजकले ब्यबस्थापनमा ध्यान दिन सकेनन 

आजभन्दा ६ वर्ष अगाडि चलचित्र क्षेत्रका दिग्गज व्यक्तिको नाम जोडेर एनएफडिसी अवार्ड घोषणा गर्दा धेरैले अवार्डको प्रशंसा गरेका थिए । अझ नगद राशिसहितको ट्रफी दिने घोषणाले यो अवार्डको उचाई नै बेग्लै बनेको थियो । तर एनएफडिसीले कुन बेला नगद राशि हटायो र किन हटायो भन्ने कुरा अहिलेसम्म बताउन जरुरी ठानेको छैन । अझ लाजमर्दो मनोनयन र सोही अनुसारको अवार्ड वितरणले पछिल्लो समय एनएफडिसी अवार्ड ‘आस लाग्दो केटा जेठाजु भयो’ भन्ने उखान जस्तो भएको छ । अवार्डको स्तर यसरी खस्किएको छ कि जजसको नाम जोडेर एनएफडिसीले विधागत अवार्ड प्रदान गर्ने गरेको छ, सम्भवतः पछिल्लो समयको अवार्ड वितरणले उनीहरुलाई आफ्नो नाम जोडिएकोमा गर्व महसुस हुन्न, बरु ग्लानी महसुस हुन्छ ।

मंचमै पानीको फोहोरा 

केही दिनअघि मनोनयन सार्वजनिक हुँदा नै धेरैले बिहीबार वितरण गरिने अवार्डको विजेताको अनुमान लगाइसकेका थिए । दर्शक तथा समीक्षक दुवैको नजरमा नपरेको ‘लिलीबिली’ वर्षका अन्य थुप्रै राम्रा चलचित्रलाई पाखा लगाउँदै सर्वाधिक मनोनयनमा परेसँगै आयोजक र जुरीको नियत ऐनाजस्तै छर्लङ भएको थियो । धेरैको अनुमानलाई आयोजक र जुरीले गलत साबित गर्ने चेष्टा गरेनन् । बजार हल्ला अनुसार शत्रुगते उत्कृष्ट फिल्म भयो, अनि मिलन चाम्स लिलीबिलीबाट उत्कृष्ट निर्देशक घोषित भए । उत्कृष्ट फिल्म र निर्देशक कसरी फरक फरक भए, यसको रहस्य सायद आयोजकलाई मात्र थाहा होला । सामान्यतया फिल्म अवार्डमा उत्कृष्ट फिल्म दिने निर्देशक मात्र उत्कृष्ट हुन्छन् । फिल्म एउटा उत्कृष्ट हुने र अनि निर्देशक अर्कै फिल्मबाट उत्कृष्ट हुने नेपालका अवार्डमा मात्र हुन्छ । हो अस्करमा अघिल्लो साल मात्र यस्तो भएको छ, तर मिलन चाम्सले लिलीबिलीमा के आउटस्टयान्डिङ काम गरेका थिए ? जुरीले प्रमाणित गर्न सक्नु पर्छ ।

सारीको फेरले पानी छल्दै आमाकी अभिनेत्री चैत्यदेवी

अवार्ड आयोजकको अज्ञानताको पराकाष्टा मनोनयनमा नै देखिन्छ । एनएफडिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंशको नाममा मह जुरी अवार्ड दिँदै आएको छ । तर जसको सम्मानमा अवार्डको नाम राखिएको छ अनि उनै हरिवंश आचार्य शत्रु गतेबाट कथामा पुरस्कृत पनि हुन्छन् ? यस्को लाज कसले बोकी दिन्छ ?
यस्तै अर्को उदाहरण,वरिष्ठ ध्वनी मुद्रण विज्ञ प्रदिप उपाध्यायको पनि छ । उपाध्यायको नाममा प्रदीप सर्वोत्कृष्ट ध्वनी मुद्रण विधा छ । अनि उनै प्रदिप अवार्डको जुरीमा पनि छन् । आफ्नै नामको सम्मान अनि कसलाई दिने निर्णय गर्ने पनि आफैं ? अग्रजले नयाँ पुस्तालाई दिने शिक्षा यही हो ? अवार्ड आयोजकको बुद्धि पक्कै त्यति टाढा पुग्दैन, प्रदिप उपाध्यायले कम्तीमा यस्ता कुरामा आफूलाई चोखो राख्नु पर्छ ।

पानी परेपछी गार्डको छातामा ओत लागेर अवार्ड स्थलमा आउँदै अशोक शर्मा

बिहीबार कै अवार्डको कुरा गर्दा न निम्तालुलाई बस्ने ठाउँ थियो, न पर्याप्त कुर्सी । त्यसैले मनोनयनमा परेका अन्जु पन्त, अर्जुन पोखरेल, केशव भट्टराई, प्रशान्त ताम्रकार, अनुपबिक्रम शाही, लक्ष्मीनाथ शर्मा जस्ता कलाकार कुर्सी नपाएर अलपत्र परेका थिए । मौसमको ख्याल नगरी खुल्ला ठाउँमा कार्यक्रमको आयोजना गर्नुले पनि आयोजकको लापर्वाही देखिन्थ्यो । वैशाखको महिनामा पानी पनि पर्न सक्छ र पानी परिहाल्यो भने के गर्ने भन्ने कुरामा पनि सचेत भएको देखिएन । छैटौं संस्करणको अवार्ड गर्दासम्म पनि आयोजक यस्ता कुरामा सचेत नहुनु अज्ञानता हैन लार्पवाही हो ।

निमन्त्रणा कार्डको सहि सदुपयोग

अघिल्लो साल ‘छक्का पञ्जा’को टोलीले अवार्डको वितरणमा मनोमानी भएको भन्दै कार्यक्रम बीचैमा छाडेर हिंडेका थिए । एनएफडिसीले यसबाट खासै पाठ सिक्न चाहेको देखिएन । अवार्डको गरिमा कतिसम्म गिरेको छ भन्ने आयोजक आफैंलाई भन्दा बढी कसलाई थाहा होला ? किनकि आयोजक स्वयंले पुरस्कृत हुने स्रष्टालाई ‘तपाईं जसरी पनि आउनुस् है’ भनेर बोलाएर अवार्ड दिनुपर्ने अवस्थाले आफ्नो अवार्ड कति पानीमा छ भन्ने आयोजकलाई राम्ररी नै हेक्का भएको हुनुपर्छ ।

बस्ने कुर्सि नपाएपछि उभिएरै सहभागिता जनाउँदै अन्जु पन्त र अर्जुन पोखरेल

बिहीबार अवार्ड समारोहमा बाँडिएको स्मारिकामा अन्तिम पृष्ठमा ‘र अन्त्यमा’ भन्दै लेखिएको छ, ‘ चलचित्र क्षेत्र आफैंमा मर्यादित क्षेत्र हो । भनिन्छ, सिनेमा हल भनेका मन्दिर हुन् अनि दर्शक भगवान र चलचित्र प्रसाद हुन् । केही गलत नियतका मानिसले आज आफ्नो स्वार्थका लागि नेपाली चलचित्र क्षेत्रलाई धमिलो क्यानभाषमा परिणत गरिदिएका छन् ।’

एनएफडिसी र गोपीकृष्ण मुभिजले बराबर माथि उल्लेखित बाक्यको उछित्तो कसले काढेको होला ? कलाका लागि मरिमेट्ने फिल्मकर्मीलाई तिरस्कार गरेर अनि पैसाको तुजुक देखाउने फिल्मकर्मीलाई पुरस्कृत गरेर क्यानभाष धमिलो कसले बनाइरहेको छ ?

ट्राइपडको नयाँँ काम, टेन्टमा जमेको पानी निकाल्दै  मनोज केसी