आजबाट हलमा खगेन्द्रको ‘डमरूको डण्डीबियो’

लोपोन्मुख अवस्थामा पुगेको खेल डण्डीबियोलाई आम नेपालीमाझ बिर्सन नदिई ब्यूँताउनका लागि सघाउने उद्धेश्यले निर्माण गरिएको फिल्म ‘डमरुको डण्डीबियो’ बैशाख २१ (आज)बाट प्रदर्शनीमा आएको छ । चलचित्रमा खगेन्द्र लामिछानेका साथमा मेनुका प्रधान, अनुप बराल, वुद्दि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानी छ । ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा गरिएको यो फिल्म छेतन गुरुङले निर्देशन गरेका छन् भने लेखक खगेन्द्र लामिछाने रहेका छन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बास्कोटाको संगीत, हरि हुमागाँइको छायांकन छ ।

नेपालबाट लोप हुँदै गएको यो खेल आगामी पुस्तालाई समेत जानकारी रहिरहोस् भन्नका लागि यो फिल्मले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नयाँ पुस्ताले डण्डीबियो खेल नै बिर्सिन लागेका बेला सरकारले झन् यसलाई राष्ट्रिय खेलबाट हटाइ भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको छ । यस अवास्थामा यो बिषय झन् पेचिलो बन्न सक्छ । यो खेल विश्वका भुटान, इन्डिया, वर्मालगायत १०/११ देशमा खेलिदै आएको तथ्य संकलन गरेपछि रिसर्च गरेर फिल्म बनाइएको हो । खेल्ने तरिका र नाम फरक होला । तर, यसको प्रमोसन गर्दै जाने हो भने पछि गएर डण्डीबियो साउथ यसियन गेम बन्न पनि सक्ने सम्भावना देख्न सकिन्छ ।
खगेन्द्र लामिछाने दर्शकमाझ ‘टुल्के’ र ‘पशुपतिप्रसाद’ चरित्रले बढि चिनिन्छन् । ‘बधशाला’बाट डेब्यु गरेपनि उनलाई दर्शकमाझ चिनाउने फिल्म भने ‘टलकजंग भर्सेस टुल्के’ हो । कुनैपनि कथा आफैमा खतर्नाक नहुने र त्यसलाई फरक बनाउन प्रस्तुतीले भूमिका खेल्ने लेखक तथा कलाकार खगेन्द्रले बताए । रंगमन्चबाट फिल्म लेखन हुँदै अभिनयमा होमिएका खगेन्द्रको शैली अरुको भन्दा भिन्नै रहेको छ । यसअघिका फिल्ममा उनको भूमिका सामाजिक र अलि दुखी मान्छेका कथा थिए । ‘डमरुको डण्डीबियो’मा स्पोर्टी व्यक्तिको क्यारेक्टर गर्दा चुनौती पनि थियो र मज्जा पनि आयो । करिब ५ वर्षपछि उनले केही फरक भूमिका निर्वाह गरेका हुन् । हिजोका दिनमा ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ जस्ता क्यारेक्टर वेस फिल्म बनाउँदा उतिक्कै जोखिम थियो तर व्यवसायिक हिसाबले फिल्महरुले आफ्नो लगानी सुरक्षित गरे । यसै कारण पनि ‘डमरुको डण्डीबियो’ घाटामा जाँदैन भन्न सकिन्छ’ खगेन्द्रले भने ।

दशरथ रंगशाला पछाडी डण्डीबियो खेल्नका लागि बनाइएको मैदान भेटियो । त्यो खास पार्किङ हो तर डण्डीबियोको टुर्नामेन्ट हुँदा पार्किङ खाली गरिन्छ । सरकारले डण्डीबियोको लागि भनेर केही बजेट छुट्याउँदो रहेछ । अनुसन्धान गर्दै जाँदा डण्डीबियो कसरी खेल्ने भन्ने विषयमा तयार भएको प्रिन्टेड नियम पुस्तिका पाइयो । यो डकुमेन्टेसनको कुरा पनि हो । भोली डण्डीबियोको नियमलाई गलत तरिकाले प्रस्तुत गरियो भने विवादस्पद हुन्छ । त्यसकारण एकदम ध्यानपूर्वक अनुसन्धान गरेर स्क्रिप्टिङमा राम्रोसँग काम गर्नुपर्ने थियो र, अन्ततः फिल्मको सुटिङ गरिएको थियो । संघका रवीन्द्र पन्तलगायतका साथीहरूले डण्डीबियो खेलको विभिन्न ठाउँमा ट्रेनिङ दिँदै आउनुभएको रहेछ’ उनले सुटिङ सुरु हुनु पुर्वका घटना स्मरण गरे । फ्यामिली ड्रामामा र खेल ब्लेन्ड गरेर स्क्रिप्ट तयार भयो । लगभग १ महिनाको ट्रेनिङ र सुटिङको क्रममा कलाकारले धेरै रमाइलोसंग समय व्यतित गरे । यो फिल्म कला र व्यावसायिकताको फ्युजन हो । खगेन्द्रले भने ‘तर, फिल्म केवल डण्डीबियो खेलसँग मात्र सम्बन्धित छैन । यो पारिवारिक कथा हो ।’ अर्का कलाकार अनुप बरालले गरिरहेको भूमिका भन्दा फरक भूमिकामा काम गर्दा थिएटरमा पनि नर्भस भएको र यसमा पनि त्यस्तै भएको बताए । उनले भने ‘नाटकको प्रशिक्षण दिनभन्दा फिल्ममा डण्डीबियो प्रशिक्षककै भूमिका गर्न कठिन भयो ।’

‘अहिले लभ स्टोरी, कमेडी र फ्यामिली ड्रामाका फिल्मले सफलता पाइरहेका छन् । डमरुको डण्डीबियो खेल मात्रको फिल्म नभएर फ्यामली ड्रामा भएकाले यसमा लगानी गर्न रिस्क थिएन । प्रदेशस्तरीय डण्डीयोबियो प्रतियोगिताको दृश्यका लागि सातै प्रदेशका खेलाडी टिम र कोचसहितलाई हायर गरेर ९ दिनसम्म सुटिङ गरिएको थियो । हालसम्म डेढ करोड खर्च भएको छ । तर, पनि लगानी सुरक्षित हुने कुरामा कुनै सङ्का छैन ।’ फिल्मका निर्माता बिनोद गुरुङको भनाई थियो ।