जेठ ४ बाट हलमा फिल्म नलाग्ने

- मेराेफिल्म

चलचित्र निर्माता संघले राखेको २ बुँदे मागमा चलचित्र संघले शुक्रबारसम्म कुनै चासो नदेखाएपछि निर्माताले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार निर्माता संघको बैठकले महासचिव रोज राणाको संयोजकमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । राणा नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिका पनि संयोजक हुन् । रोज राणाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघर्ष समितीले घोषणा गरेको आन्दोलन जेठ १ गतेबाट सुरु हुनेछ । राणाले दिएको जानकारी अनुसार जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी कालो पट्टी बाँधेर हलमा उपस्थिति हुनेछन् भने जेठ २ गते चलचित्र विकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्नका लागि दबाब दिदै धर्ना बस्नेछन् । जेठ ४ गतेबाट भने सम्पूर्ण चलचित्र भवनहरुमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने निर्माता संघले बताएको छ । यसअघि भने निर्माता संघले २ गतेबाट हलमा कुनै पनि फिल्म लाग्न नदिने बताएको थियो ।
निर्माता संघले नेपालभरि नै सेयर बाँडफाँडको प्रतिशत ६०÷४० हुनुपर्ने र हलमार्फत हुने प्रचार प्रसारमा पनि बराबरको दायित्व हुनुपर्ने भन्दै केही दिन अगाडि चलचित्र निर्माता संघले चलचित्र संघलाई वार्ताका लागि आहवान गरेको थियो । तर चलचित्र संघबाट निर्माताको मागका सम्बन्धमा आधिकारिक धारणा आइसकेको छैन ।

२०७५ वैशाख २१ गते १८:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *