लिली बिली ५१ दिने सेलिब्रेसनमा देखिएका रोचक दृश्य

फिल्म लिलीबिलीले प्रदर्शनको ५१ दिन पुरा गरेको छ । उपत्यकाका केही हलमा ५१ दिन मनाएको खुशीयालीमा फिल्म युनिटले एक कार्यक्रमको आयोजना गरी ५१ दिने सेलिब्रेसन गरेको छ ।

उक्त कार्यक्रममा लिलीबिली नायक प्रदिप खड्का र निर्माता तथा वितरक गोविन्द शाहीले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘लभ स्टेसन’को समेत घोषणा गरियो । प्रदिप खड्काकै मुख्य भूमिका रहने फिल्मका लागि हिरोइन भने फाइनल भइसकेका छैनन् ।


हाल फिल्म ‘रोजी’को सुटिङमा ब्यस्त रहेका प्रदिपले रोजी सुटिङ सके लगत्तै लभ स्टेसनका लागि समय दिनेछन् । फिल्मको छायाङ्कन नेपालका विभिन्न स्थानसँगै अमेरिकामा पनि गरिने छ ।

कार्यक्रममा रोचक के थियो ?
लिलीबिलीको ५१ दिने सेलिब्रेसन तथा फिल्म लभ स्टेसनको घोषणा कार्यक्रम विविध कारणले रोचक बन्यो ।

नाम लिनै गाह्रो
कार्यक्रममा फिल्म युनिट बस्नका लागि बनाइएको स्टेजमा एक रो मात्र थियो । जहाँ फिल्मका निर्माता निर्देशक र नायकसँगै अन्य केही अतिथी बसेका थिए । फिल्म प्रदर्शनपश्चात् फिल्मको शेयर बाँडफाँडमा आएको किचलो र असमझदारीका कारण निर्माताहरुको बिचमा केही समय यता भाँडभैलो भएको समाचारहरु बाहिरिएका थिए ।

निर्माता गोविन्द शाहीले हलबाट उठाउनु पर्ने पैसा फिल्मका अर्का निर्माताले रोक्का गर्न भनी उजुरी र इमेलसमेत गरेको समाचार आएका थिए । यहि बिषयमा निर्माता निर्देशक र वितरक शाहीबीच पानी बाराबार थियो । ५१ दिने सेलिब्रेसनमा पनि त्यो दूरी उत्तिकै थियो । निर्देशक मिलन चाम्स र वितरक निर्माता गोविन्द शाहीको बीचमा प्रदिप बसेका थिए । मिलन र गोविन्द दुवैले अनाकनाउँदै एक अर्काको नाम लिएका थिए ।


हिरो हिरोइन शाहीसँग, निर्माता चाम्ससँग

लिलीबिली युनिटमा अहिले २ चिरा देखिएको छ । एकतिर निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्स देखिएका छन् भने अर्कोतिर वितरक निर्माता गोविन्द शाही र नायक प्रदिप खड्का । यि दुवैले फिल्म अनाउन्स गरिसकेका छन् ।

मिलन र सुदिप मिलेर अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ निर्माण गर्दै छन भने गोविन्द शाही र नायक प्रदिप खड्का मिलेर फिल्म ‘लभ स्टेसन’ निर्माण गर्दै छन । फिल्म लिलीबिली निर्माण गर्दा एकताको बिगुल फुकेका यि चार अहिले २ चिरामा बाँडिएका छन् ।

मिलनको बचावमा प्रदिप
फिल्म लिलीबिली प्रदर्शनमा आएपछि फिल्मका निर्देशक मिलन चाम्सले फिल्मका दुई मुख्यकलाकार प्रदिप खड्का र नायिका जसिता गुरुङको सकेसम्म उछित्तो काढेका थिए । उनले प्रदिपको करियर सकाइदिनेसम्मका अभिब्यक्ति दिएका थिए ।

यस बिषयमा प्रदिपले अहिलेसम्म कुनै प्रतिकृया दिएका थिएनन् । पत्रकारले यस बिषयमा निर्देशक मिलन चाम्सलाई प्रश्न गरे । तर जवाफ दिन ठिक्क परेका मिलनलाई रोक्दै पत्रकारलाई जवाफ प्रदिप खड्काले दिए ‘मिलन सरले मेरो बारेमा सोच्नु हुँदो रहेछ त्यसैले कुरा गर्नु भयो । सँगै कामगर्दा सानो तिनो झगडा वा असमझदारी हुनु स्वभाविक हो । त्यसले झनै उर्जा दिन्छ ।’

मिलन चाम्स आजभोलि अलिकति क्रिटिकल प्रश्न आयो कि पत्रकारकै सातो खान खोज्छन् । आफ्नो फिल्मको इभेन्ट गलत दिशामा जाला भन्ने जानेरै होला प्रदिपले चाम्सलाई बोल्ने मौकै दिएनन् ।


फिल्मको ५१ दिने कलेक्सन रिपोर्ट

कार्यक्रममा फिल्म प्रदर्शनको ५१ दिनसम्म आइपुग्दा अझै पनि कलेक्सन रिपोर्ट भने बाहिरिएको छैन । एक पत्रकारको कलेक्सन कति भयो, नाफा घाटा के छ भन्ने जिज्ञासामा वितरक गोबिन्द शाहीले भने ‘त्यहिहो नाफा घाटाभन्दा पनि हामीले लगानी गरेका थियौँ । लगानी सहित ब्याज आयो । अरु अझै हिसाब गर्न बाँकी छ । हिसाब सकिएपछी जानकारी गराउँछौँ ।’

निर्माताले ५१ दिनको हिसाब नदिए पनि फिल्म रिलिज भएको चार पाँच दिनमै ५ करोड हाराहारीको व्यापार गरेको रिपोर्ट भने निर्माताले मिडियामा छरेका थिए ।