के फ्लप हो ‘लिलीबिली’ ?

आइतबार लिलीबिलीले ५१ दिन पूरा गरेको भन्दै केक काटेर सेलिब्रेसन गर्यो । कुनै पनि फिल्मले ५१ दिन मनाउनुको मतलब निर्माताको हातमा कुस्त पैसा पर्नु हो । यस हिसाबले लिलीबिलीले पनि राम्रै पैसा कमाएको धेरैको अनुमान छ । तर सोही कार्यक्रममा अभिनेता प्रदिप खड्काको एउटा भनाइले फिल्म फ्लप भएको अनुमान गर्न सकिन्छ ।

सेलिब्रेसनको माहोलमा जब फिल्मका निर्मातालाई किन बेग्लाबेग्लै फिल्म बनाएको भनेर सोधियो, निर्माता मध्येका एक गोविन्द शाहीले एक्लै लगानी गर्ने र नाफा पनि एक्लै खाने हिसाबले बेग्लै फिल्म निर्माण गर्न लागेको जवाफ दिएका थिए । शाहीको झैं सुदिप खड्काको पनि उत्तर उही थियो, ज्यादा पैसा कमाउने । पछि यही प्रश्नमा अभिनेता प्रदिप खड्काले पनि निर्माताहरु व्यापारी भएकाले ज्यादा पैसा कमाउन बेग्लाबेग्लै फिल्म निर्माण गर्न लागेको बताएका थिए ।

तीनै जनाको एकै खाले उत्तरले सजिलै अनुमान गर्न सकिन्छ, लिलीबिलीले पैसा कमाएको छैन । यो कुराको पुष्टि हुन्छ, निर्माताले ५१ औं दिनमा पनि फिल्मको कमाइ सार्वजनिक गर्न नसक्नुले । रिलिजको चार पाँच दिनमै चार पाँच करोड ग्रस गरेको गफ दिएका निर्माताले त्यसयता कमाइको आँकडा सार्वजनिक गर्न सकेका छैनन् । यही कार्यक्रममा निर्माता शाहीले साउँ उठेको बताएका थिए । आँकडा बढाउन माहिर शाहीले मुस्किलले साउँ उठेको मात्र बताइरहँदा पनि लिलीबिली घाटामा रहेको अनुमान गर्न गाह्रो छैन ।

लिलीबिलीले गोपीकृष्ण, गुण सिनेमा, बाराही र अष्टनारायण हलमा ५१ दिन मनाएको निर्माताको दाबी थियो । स्रोतका अनुसार निर्माताले गोपीकृष्ण र गुण हलमा एक मुस्ट पैसा लिएर फिक्समा धेरैअघि फिल्म बेचिसकेका हुन् भने बाराही र अष्टमा शुक्रबार र शनिबारबाहेक अरु दिनमा फिल्म एक सोमा चल्दै ५१ दिनसम्म पुगेको हो । निर्माताको आफ्नै बोली, प्रदिपको भनाइ र हलबाट आएको जानकारीले देखाउँछ, ५१ दिन मनाए पनि फिल्मले लगानी उठाएको छैन ।