कमलेको बिहेको जस्तै जय भोलेको गीत

केही समययता नेपाली फिल्मका संगीतकारलाई पुराना संगीतकारको गीत चोरेको आरोप लाग्न थालेको छ । कालीप्रसाद बास्कोटा, अलमोडा उप्रेति, टंक बुढाथोकी आदिले पुराना संगीतकारको गीत तोड मरोड गरेर आफ्नो नाममा राखेको आरोप खेपिसकेका छन् । तर राजनराज शिवाकोटीले भने आफ्नै पुरानो गीतलाई तोडमरोड गरेर नयाँ बनाएको आरोप खेपेका छन् ।

बिहीबार मात्र रिलिज भएको जय भोलेको गीत राजनराजको गीत उनकै पुरानो गीतसँग मेल खान्छ । उम्लियो भने पोखिन्छ बोलको जयभोलेको गीत र केही महिनाअघि सार्वजनिक भएको कमलेको बिहेको टाकन टुकन गीतमा थुप्रै समानत छन् । गहिरिएर गीत सुन्ने हो भने राजनराजले टाकन टुकनलाई नै हल्का मोडिफफाइ गरेर जय भोलेमा राखेका हुन् भन्दा फरक पर्दैन ।

जय भोलेको यो गीतको संगीत मात्र होइन, शब्द पनि लगभग मेल खान्छ । कमलेको बिहेमा जहाँ राजनराजले टाकन टुकनबाट गीतको थालनी गरेका छन् भने जय भोलको गीतमा टिटिरी टिटिरी गर्दै सुरु गरेका छन् । शब्दमा देखिएको समानता यतिमै सीमित छैन । कमलेको बिहेमा जहाँ राजनराजले घट्टमा मकै कोदो पिस्ने घुमाउने आसय व्यक्त गरेका छन् उही जय भोलेमा पानीले घट्ट घुमाउने आसय व्यक्त गरेका छन् ।

पछिल्लो समय राजनराज शिवाकोटी फिल्मको महत्वपूर्ण हिस्सा बन्दै आएका छन् । यस्ता विरलै निर्माता होलान् जो एकचोटि राजनराजसँग गीतका लागि ठोक्किन्नन् । उनका झन्डै दर्जनगीतले करोड भ्युज पनि पाइसकेका छन् । यस्तोमा राजनराजले आए जति सबैलाई गीत बेच्नेभन्दा पनि थोरै तर राम्रा गीत सिर्जनामा पनि ध्यान दिन पर्छ ।

जय भोले र कमलेको बिहेको गीतमा कति समानता छ त्यो त राजनराजलाई सबैभन्दा बढी थाहा होला । बाँकी जिम्मा पाठकलाई पनि ।

जय भोलेको गीत उम्लियो भने पोखिन्छ

कमलेको बिहेको गीत टाकन टुकन