बेहोसीको “सेतो स्कार्फ” कथा सङ्ग्रह

कथाकार सविता श्रेष्ठ “बेहोसी”को कथासङ्ग्रह “सेतो स्कार्फ” कवि तथा संस्कृतिविद् तुलसी दिवसले लोकार्पण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि दिवसले नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथाहरुका त्यो कुरा रहेको बताए ।

सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले आख्यानमा सविताले चालेका पाइलाहरुले साहित्य आकाशको उचाई मापन गरोस भन्ने शुभकामना व्यक्त गरे । विशिष्ट अतिथि वरिष्ठ कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तृति रहेको बताए ।

वरिष्ठ स्रष्टा मोमिला जोशीले कृतिमाथि समीक्षा गर्दै भनिन्,’ कृतिले आम मानिसहरुको जीवन बोलेको छ र कृतिकारको पनि जीवनलाई धेरथोर समेटेको छ । यस्ता सिर्जनाले मानिसहरुको मनलाइ छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ । ‘

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ उन्नति बोहोरा शिला, प्राध्यापक माधवप्रसाद पोखरेल, वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु मोहन मायस्थ, गोविन्द गिरी प्रेरणा, मोहन दुवाल, गोपाल पराजुली, चन्द्रप्रसाद भट्टराई, भागीरथी श्रेष्ठ, इल्या भट्टराई, हिरण्यकुमारी पाठक, किशोर पहाडी, सुशीला देउजा, प्रद्युम्न जोशी, लक्ष्मी उप्रेतीलगायतको उपस्थिति रहेको थियो । नेपाल स्रष्टा समाजले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो ।

कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग(कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेख्दै यसभित्र नेपाल र नेपालीको यथार्थ चित्रण रहेको उल्लेख गरेका छन् । विमल भौकाजीले कृति सम्पादन गरेका हुन् । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।