बलिउडको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने, नेपाल क्याटेगोरी समेत थपियो

बलिउडको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने भएको छ । यस बर्षको अवार्ड नेपालमा गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष सक्रियता र निर्देशक दिनेश डिसीको संयोजनमा जी टेलिभिजनको एक टोली नेपाल आएको हो । एसेल ग्रुपका चेयरम्यान तथा जी टिभी नेटवर्कका संस्थापक  एम.पी सुभाश चन्द्र, डा. अमर सिंह,  एक्स एम.पी/नायिका जयाप्रदा लगायतको टोली नेपाल आएको हो ।

केही समय अगाडी प्रधानमन्त्रि केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणका बेला नेपाली फिल्म क्षेत्रका दुई चर्चित व्यक्तित्व महानायक राजेश हमाल र निर्देशक दिनेश डी.सि समेतलाई सहभागी गराइएको थियो । सोही समयमा नेपाली र भारतीय फिल्म क्षेत्रका व्यक्तिहरु बीच भएको भेट वार्तामा जी सिने अवार्ड नेपालमा गर्न सक्ने सम्भावनाका बिषयमा कुरा भएको थियो । सोही भेट वार्ता र छलफल भएका बिषयलाई मुर्तरुप दिन  टोलि नेपाल आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा यस बर्षको जी सिने अवार्ड नेपालमा गरिने पक्का भैसकेको तर कहिले गर्ने भन्ने एकिन भैसकेको छैन । यद्यपी अवार्ड डिसेम्बरमा हुने सम्भावना रहेको बुझिएको छ । अवार्डका लागि नेपाली र भारतीय समिती समेत निर्माण गरिएको छ । सो समितिले अवार्ड संयोजन गर्ने छ ।

यसै बर्ष देखि जी सिने अवार्डमा नेपाल क्याटेगोरी समेत थपिएको छ । सो विधा अन्तर्गत नेपाली फिल्म क्षेत्रलाई जी सिने अवार्डमा समाबेश गरिनेछ । यसले नेपाली फिल्म क्षेत्रको विश्वब्यापिकरणमा सहयोग पुग्ने आशा राखिएको छ ।

जी टेलिभिजनको टोलीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटन मन्त्रि रबिन्द्र अधिकारी, नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै वरिष्ठ कलाकार निर शाह, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सि, नायक शिव श्रेष्ठ, नायक भुवन केसी, नायक निखिल उप्रेती, नायिका झरना थापा, नायिका संचिता लुइँटेल, राज्य सभा सदश्य तथा गायिका कोमल ओली, गीतकार सम्भुजित बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।

सो भेट वार्तामा नेपालमा जी अवार्डसँगै नेपाली र भारतीय कलाकारहरुको साथमा विदेशी फिल्म बिज्ञहरुको बृहत सम्मेलन (हिमालयन कनक्लेभ) समेत गर्ने निश्चित गरिएको छ । सो सम्मेलनमा फिल्म क्षेत्रको बर्तमान अवस्था, सम्भाव्यता र संयुक्त लगानी र साउथ एसियन रिजनमा फिल्म निर्माणसँगै एक्जिबिसनका लागि वान डोर प्रोसेसिङका बिषयमा छलफल हुनेछ ।

उक्त भेट वार्तामा चलचित्र बिकास कोषलाई सहयोग गर्ने इच्छा सहित नेपालमा फिल्म सिटी निर्माणमा समेत भ्रमण टोलीले चासो राखेको थियो । टोलीले फिल्म सिटी निर्माणका लागि सम्भावित स्थान सल्यानटार, पालुङटार गोरखाको समेत अवलोकन भ्रमण गरेको छ । कुन स्थानमा फिल्म सिटी निर्माण गर्ने भन्ने बिषयमा नेपाली र भारतीय बिशेषज्ञको टोलि बसेर निर्णय गर्नेछन् । नेपाल सरकारले यसअघि दोलखामा फिल्म सिटी निर्माण गर्ने घोषणा गर्दै शिलान्यास समेत गरिसकेको छ । यद्यपी त्यसको कामकारबाही भने अगाडी बढेको छैन ।

जि टेलिभिजनले नेपाली फिल्म क्षेत्रमा मात्र नभई नेपाली क्रिकेटको विकासमा समेत चासो राखेको श्रोतले बताएको छ । नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’लाई लक्षित गरेर सो अवार्ड नेपालमा गर्न लागिएको हो । यसले नेपाली फिल्म क्षेत्रको विकास र विस्तारमा ठुलो टेवा पुग्ने आशा गरिएको छ ।