‘रामकहानी’ नहेर्न सलमानका फ्यान क्लबको क्याम्पियन

फिल्म रामकहानीका कलाकार यतिबेला आफ्नो फिल्म हेरिदिन दर्शकलाई हारगुहार गरिरहेका छन् । यतातिर सलमान खानका नेपाली फ्यान भने रामकहानी हेर्ने पैसा धुर्मुस सुन्तली फाउन्डेसनलाई दान दिन आग्रह गर्दै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । उनीहरुले फेसबुकमा फ्यान क्लब स्पोन्सर्ड गरेर लेखेका छन् , ‘मैले यो फिल्म नहेर्ने भएँ । यो फिल्म हेर्ने पैसा बरु धुर्मुस सुन्तली फाउन्डेसनलाई दिन्छु । कमसेकम क्रिकेट स्टेडियम बनाउन थोरै भए पनि सहयोग हुन्छ ।’ नेपालमा बलिउड अभिनेता सलमान खानलाई मन पराउनेहरुले स्वतः स्फूर्त रुपमा संगठित भइ समूह बनाएका छन् जसलाई सलमान खान फ्यान क्लब भनेर चिनिन्छ । नेपालमा शाहरुख खानको पनि फ्यान क्लब रहेको छ । सलमान खान फ्यान क्लब नेपालमा ४१ हजार सदस्य छन् ।

किन रिसाए सलमानका फ्यान रामकहानीसँग ?
सलमानका फ्यान रामकहानीसँग रिसाउनुको कारण फिल्म नभइ माग्ने बुढा उर्फ केदार घिमिरे हुन् । उनले केही महिनाअघि सलमान खान ‘दबंग टुर’ लिएर नेपाल आउने भएपछि नेपालीले नेपाली कलाकारलाई महत्व नदिएर बलिउड कलाकारलाई महंगो पैसा तिरेर ल्याएको भन्दै सामाजिक सञ्जालमा विरोध गरेका थिए । उनले सलमान खानलाई हेर्न जाने पैसा धुर्मुस सुन्तली फाउन्डेसनलाई दान दिनु जाति भन्दै लामो स्ट्याटस लेखेका थिए । उनले सोही स्ट्याटसमा सीमाना मिचिएको, समान व्यवहार नभएको आदि कुरा पनि उठाएका थिए । तर उनको स्ट्याटसले सलमानका फ्यान रिसाएपछि उनले फेसबुकमै स्ट्यास लेखेर आफूबाट गल्ती भएको बताएका थिए ।

‘माग्ने दाइले दबंग टुरको बेला सलमान खानलाई बाइकट गर्न आग्रह गर्नुभएको थियो । त्यसैले हामीले अहिले वहाको फिल्म बाइकट गर्न लागेका हौँ । तर यो हामीले सलमानखान फ्यान क्लबका सदस्यलाई मात्र भनेको हो अरुलाई भनेको होइन  । ’ सलमान खान फ्यान क्लब नेपालका एक एडमिन सञ्जिव यादवले मेरो फिल्मसँग भने ।

भदौ २२ बाट प्रदर्शनमा आउने फिल्म ‘रामकहानी’ मा केदार घिमिरे सँगै पूजा शर्मा, आकाश श्रेष्ठ, जितु नेपाल र विल्सन विक्रम राई रविन्द्र झा, राजाराम पौडेल, शोभित बस्नेत, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । फिल्म नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

हेर्नुस्, केदारका घिमिरेका दुई स्ट्याटस जहाँ उनले पहिले सलमानको विरोध गरेका छन् र पछि माफी मागेका छन् ।