‘कथा काठमाडौमा दबिएका ३ कथा’

संगीता श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको फिल्म ’कथा काठमाण्डौ’ युनिटले मोफसलमा आफ्नो प्रचारलाई अगाडी बढाउदैछ । फिल्मको रातको कुरा , जुन अनि तारालाई टाइटल गीत ’कथा काठमाण्डौ’ र ट्रेलर समेत सार्वजनिक भैसकेको छ । भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तरर्गत निर्माण टिमले इटहरी , धरान , दमक , हेटौडा , नारायणगढ , बुटवल , दाङ र पोखरा लगायतका सहरमा पुगेर फिल्मको बारेमा जानकारी गराउनेछ । युनिट मोफसल टुर अन्तर्गत नै पथरी , धरान , चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।

असोज १२ मा रिलिज हुने फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका रहेको छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी रहेको छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लु : जा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

निर्देशक श्रेष्ठले फिल्मका बारेमा बोल्दै भनिन् ,’हामीले फिल्ममा भिन्न भिन्न तिन कथालाई अगाडी ल्याउने कोसिस गरेका छौ । केहि कथा र घटना हाम्रो अगाडी नै हुन्छ तर त्यसमा हामी न बोल्न सक्छौ न त प्रतिकार नै , त्यस्तै केहि दबिएका कथा छन् यसमा । फिल्मले केहि पछिल्ला घटनालाई पनि रिलेट गर्छ , मर्मको हिसाबले । यो फिल्म मनोरंजन मात्र नभई एउटा संदेश पनि छ , एउटा साहस पनि छ यसमा । यसैले गर्दा पनि हामी युनिट नै मोफसलमा स्थानीय मिडियाकर्मी तथा दर्शकसँग साक्षात्कार गर्न भाद्र २२ बाट मोफसल टुरमा निस्किदैछौ ।’