तीजको काइदा, दीपक दीपालाई फाइदा

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । तीजको अवसरमा भगवान पशुपती नाथको मन्दिर परिसरमा दर्शनार्थीको घुइँचो लागेको छ । त्यही घुइँचोको सुइँको पाएर दशैँमा प्रदर्शनमा आउन लागेको फिल्म छक्का पन्जा ३ का निर्माता कलाकार दीपक राज गिरी र निर्देशक दीपा श्री निरौला दर्शकलाई भेट्न पुगेका छन् ।

पशुपती मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रमका दीपक र दीपा पुगेनन् मात्र उनीहरुले आफ्नै फिल्मको गीत देखि तीजको लहर आयो बरिलै गीतमा समेत नृत्य प्रस्तुत गरे । कार्यक्रममा दीपक दीपासँगै गायक निशान भट्टराई उपस्थित थिए । उनीहरुले तीज मनाउन जम्मा भएका भक्तजनका बीच फिल्म प्रचार पनि गरे । फिल्म प्रचारका लागी आजभोली अनेक उपाय अपनाउनु पर्छ । यति धेरै मान्छे जम्मा गर्न पनि ठुलै कसरत गर्नु पर्छ । तर दीपक दीपाले यस पटकलाई कुनै कसरत गर्नु परेन । त्यो अवसर तीज पर्वले जुटाइदिएको छ । अनि भएन त तीजको काइदा दीपक दीपालाई फाइदा ?


फोटो : दीपाश्री निरौलाको फेसबुकबाट