सामाजिक अपराधको विषयमा किन बोल्दैनन् कलाकार ?

देशमा अहिले सर्वाधिक चर्चामा रहेको विषय हो ‘निर्मला हत्या काण्ड’ । यस काण्ड देशका उच्च निकाय देखि जनतासम्मको चासोको विषय बनेको छ । तर घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन र पीडितले न्याय पाउन सकेका छैनन् । निर्मलाको लागि न्याय भन्दै धेरै ठाउँमा र्याली तथा प्रदर्शनी भइरहेका पनि छन् ।

निर्मला हत्या काण्ड जस्तै अन्य धेरै अपराधिक क्रियाकलापहरु समाजमा भइरहेका हुन्छन् । हामीले यहाँ निर्मला हत्या काण्डको बारेमा मात्र कुरा गर्न लागेका छैनौँ । देशको सम्पूर्ण निकायले चासो रहेको वा ध्यानाकर्षण गरेको यस्ता अपराधिक क्रियाकलापमा किन कलाकारले बोल्दैनन त ? चर्चाको विषय यो हो । निर्मला हत्या काण्डले यत्तिको ठुलो रुप लिइरहँदा यस विषयमा केही सिमित कलाकारले मात्र बोलेका छन् ।

कलाकार भनेको कसैको ‘आइडल पर्सन’ हो । कलाकारलाई धेरैले फलो गरिरहेका हुन्छन् । कलाकारले गरेको अनेक क्रियाकलापमा धेरै व्यक्तिको नजर परेको हुन्छ । त्यसैले कलाकारले गर्ने अनेक क्रियाकलापले धेरै व्यक्तिहरुमा प्रभाव परिरहेको हुन्छ ।

एक सामान्य नागरिक र सामाजिक रुपमा ख्याती प्राप्त व्यक्ति ‘कलाकार’ले बोलेको आवाजमा ठुलो भिन्नता हुन्छ । कारण उसले कमाएको सामाजिक प्रतिष्ठा । उ प्रति सामान्य नागरिकले देखाएको चासोले महत्वपूर्ण अर्थ राख्छ । त्यसैले पनि कलाकार बोल्न जरुरी हुन्छ । तर बिडम्बना सामाजिक महत्वका विषयमा एकाध कलाकारलाई छोडेर हेर्ने हो भने हाम्रा अन्य कलाकार ‘तै चुप मै चुप’ छन् । आखिर किन ? कारण विविध हुन सक्छन् ।

के भन्छन् कलाकार ?

नायिका ऋचा शर्माले निर्मलाको निम्ति न्याय भन्ने एक पोष्ट आफ्नो फेसबुकमा शेयर गरेकी छिन् । भदौ ३० गते माइती घर मण्डलामा हुने प्रदर्शनीमा आफु पनि उपस्थित हुने उल्लेख गरेकी थिइन् । ऋचाले निर्मलाको लागि अन्य पोष्टहरु पनि आफ्नो सामाजिक संजालमा शेयर गरिरहेकी हुन्छिन् ।

उनी यस विषयमा कलाकारहरु बोल्नु पर्ने बताउँछिन् । ‘कलाकार भनेको सबैले नजर लगाउने व्यक्ति हो । एक सामान्य व्यक्ति र हामी कलाकारले बोल्नुमा धेरै फरक छ । त्यसैले पनि यस्ता विषयमा हामी बोल्न जरुरी देख्छु’, ऋचाले भनिन्, ‘हामीले नबोले कसले बोल्ने त भन्ने भावना हामीमा हुन जरुरी छ ।’

त्यस्तै, नायिका केकी अधिकारीले पनि माइती घर मण्डलामा हुने प्रदर्शनीको पोष्ट शेयर गरेकी छिन् । उनले पनि आफ्नो फेसबुकमा शेयर गर्दै हामी सबैको लागी भेला हौँ भनेर लेखिकी छिन् ।

निर्मलाको विषयमा बोल्दै आएकी  केकी अधिकारीको पनि उस्तै तर्क छ । ‘अरुले आफ्नो हिसाबले आवाज उठाइरहनु भएको होला । मैले आफ्नो लागि बोलेको हुँ’, केकी भन्छिन् ‘हामी यस्तो ठाउँमा छौ जहाँ हामीले बोलेको आवाज नर्मल मान्छेको भन्दा अलि धेरै मान्छे सामु पुग्छ । त्यसैले पनि हामी कलाकार बोल्न जरुरि छ जस्तो लाग्छ ।’

सदावहार नायिका करिश्मा मानन्धरले पनि यस विषयमा बोलेकी छिन् । उनले एक मिडियामा अन्तरवार्ता दिने क्रममा यस हत्या काण्डमा प्रहरी प्रशासन कमजोर भएको बताएकी छिन् । उनले यस्तो विषयमा कलाकारहरुले पनि ध्यान दिनुपर्ने तर्क दिएकी छिन् ।

नायिका रेखा थापाले यस विषयमा रहेर एक लेख नै लेखेकी छिन् । उनले एक राष्ट्रिय दैनिक पत्रिकामा ‘निर्मलाको पासविक हत्या अन्तिम होस्’ शिर्षकमा एक कविता तयार गरेकी छिन् ।

कलाकार दीपकराज गिरी यस्तो विषयमा एक कलाकार मात्रले भन्दा पनि संस्थागत रुपमा नै अगाडी बढ्नु पर्ने तर्क राख्छन् । ‘समाजमा यस्ता घटनाहरु बढिरहेका छन् । हामीले व्यक्तिगत रुपमा त्यसलाई चासो दिइरहेका पनि छौ’, दीपकराज भन्छन्, ‘यस्ता विषयमा हाम्रो संघ सस्थाहरु नै कमजोर बनिदिन्छन् । कुनै चलचित्र संघले कलाकारलाई भेला गराएर कार्यक्रम गरेर यस्तो विषयमा विरोध गरे पक्कै सम्बन्धित निकायमा आवाज पुग्ने थियो ।’

नायिका तथा निर्देशक झरना थापा पनि यस्तो विषयमा कलाकारले बोल्न जरुरी भएको बताउँछिन् । ‘हामीले यस्तो विषयमा बोल्नु पर्ने हो । कोहि कलाकारहरु बोलि पनि रहनु भएको छ’, झरना भन्छिन्, ‘हामीले मात्र बोल्ने भन्दा पनि सरकारबाट नै उचित न्याय होस् भन्ने चाहन्छु ।’

चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले निर्मला पन्तको घटना दु:खदायी भएको बताए । ‘निर्मला एक व्यक्तिको मात्र होइन असामाजिक कार्य र असामाजिक तत्वको बिरुद्धमा सम्पूर्ण कलाकर्मीले आवाज उठाउन जरुरी छ । बेला बखत कलाकर्मीहरु बोलिरहनु भएको छ । त्यो आवाजलाई अझै बुलन्द बनाउन सकेमा प्रभावकारी हुने छ’ उनले भने ।

कलाकार सरिता लामिछाने पनि यस्तो विषयमा कलाकारले बोल्न जरुरी भएको तर्क राख्छिन् । उनका अनुसार कलाकारले मात्र नभएर सबै जनताले नै यस विषयमा बोल्न जरुरी छ । ‘कलाकारलाई पछ्याउने धेरै हुन्छन् । त्यहि भएर पनि कलाकारले यस्तो इश्युमा बोल्न जरुरी छ’, उनले भनिन्, ‘तर देशको जिम्वेवार नागरिक जो कोहिले पनि यस्तो विषयमा आफैँले बुझेर बोल्नु पर्छ जस्तो लाग्छ ।’

नायिका प्रियंका कार्की भने सामाजिक संजालमा बिबिध पोस्टहरु गरेर नखरा देखाउनु भन्दा गोप्य रुपमा नै राम्रो काम गर्नु पर्ने बताउँछिन् । ‘जे गर्नुहुन्छ त्यसले सकारात्मक प्रभाव परोस भन्ने म चाहन्छु’, उनले भनिन्, ‘यहाँ एकदमै देखावटी मात्र भइरहेको छ त्यसैले म यसबाट पर हुन चाहन्छु ।’ तर यस्तो विषयमा बोल्ने मात्र नभएर मन देखि लागेर गर्नु पर्ने तर्क उनको छ ।

नायिका नीता ढुंगाना यस विषयमा कलाकारले बोल्नु पर्ने भएता पनि आफु नै यस विषयमा अहिलेसम्म सक्रिय हुन नसकेको तर्क राख्छिन । ‘मैले सुन्न चाहिँ सुनेको थिए तर मैले ढिला सोचे’, नीता भन्छिन्, ‘म छिट्टै कलाकारहरुको टिम सहित एक र्यालीको आयोजना गर्ने सोचमा छु ।’

नायिका वर्षा राउत निर्मलाको लागि मात्र बोल्ने भन्दा पनि यस्ता सम्पूर्ण केशको बारेमा बोल्नु पर्ने बताउँछिन् । अहिलेको समयमा सर्वसाधारण नै एकदमै बलियो भएका कारण जनताले उठाएको आवाज नै महत्वपूर्ण भएको उनको भनाई छ । ‘निर्मलाको बारेमा मात्र बोलेर हुन्न । समाजमा भएका हरेक अपराधको बारेमा हामीले बोल्न पर्छ’ वर्षा भन्छिन्’, ‘पछी अन्य केशमा बोल्न नसकिएला । त्यहि भएर म अहिले मौन छु ।’

गायक प्रमोद खरेल पनि यस विषयमा कलाकारले मात्र नभएर जो कोहि बोल्नु पर्ने बताउँछन् । ‘यो इश्यु ठुलो भइसकेको छ । सदन देखि सडक सम्म आवाज उठिसकेको छ’ उनी भन्छन्, ‘तर यत्तिका प्रेसरमा पनि सरकारले अपराधी पत्ता लगाउन नसक्नु चाहिँ हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ ।’

स्केच आर्ट – गुगल