‘इन्टु मिन्टु लण्डनमा’ बर्ष ७५ कै बम्पर ओपनिङ, देशैभर हाउसफुल

असोज ५ गते शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म इन्टु मिन्टु लण्डनमाले बम्पर सुरुवात गरेको छ । पछिल्लो केही समय यता नेपाली फिल्म बजारमा फिल्मको खडेरी जस्तै देखिएको थियो । फिल्म निर्माणको क्रम बढेर गए पनि दर्शकले चाहना अनुरुपका फिल्म हेर्न नपाएको गुनासो गर्दै आएका थिए ।

७५ साल लागे पश्चात प्रदर्शनमा आएका १-२ फिल्म बाहेक अन्यले हलमा खासै जादु गर्न सकेकनन् । नेपाली फिल्म हेर्ने बानी बसाल्दै गएका नेपाली फिल्मका नयाँ दर्शक बिच्किन थालेको हल्ला समेत चल्न थालेको थियो । तर, यी सबैको अपवाद बन्दै फिल्म इन्टु मिन्टु लण्डनमाले उत्कृष्ट सुरुवात गरेको छ । ७५ सालमा प्रदर्शनमा आएका फिल्महरु मध्य नै सबै भन्दा दर्शक हलसम्म तान्न फिल्म सफल देखिएको छ । उपत्यका भित्रका सिंगलसँगै मल्टिप्लेक्स र मोफसलका शहरहरुमा समेत फिल्मका शोहरु हाउसफुल बनेका छन् ।

कोरियोग्राफर रेनशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, डेब्यु नायक धिरज मगरसँगै शारुक ताम्राकारको मुख्य अभिनय रहेको छ । पछिल्लो समय नेपाली फिल्म क्षेत्रकी रुचाइएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र यूट्युबमा चर्चित भ्लगर धीरज मगरको क्रेज, प्रदर्शन पुर्व फिल्मको ट्रेलर तथा गीत संगीतले पाएको चर्चा, प्रोमोसनल स्ट्राटिजी, फिल्मको मेकिङ पक्ष लगायतका कारण पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाएको अनुमान लगाउन सकिन्छ ।