धेरै फिल्म एकै दिन प्रदर्शन आउनु सबै निर्माताको लागि घाटा हो – एलिजा गौतम (नव-नायिका)

असोज १२ गतेबाट फिल्म ‘अनुराग’ प्रदर्शनमा आउदैछ । रिलिज मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई तीव्र परिरहेको छ । फिल्म प्रचारको लागि टिम मोफसलका केहि शहरहरुमा पनि पुगिसकेको छ ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतीमा तयार भएको अनुरागलाई सत्यराज चौलागाईंले निर्देशन गरेका छन् । निर्देशक चौलागाईंको डेब्यु निर्देशन रहेको यस फिल्मबाट दुई नयाँ अनुहार एलिजा गौतम र समुन्द्र पण्डितले अभिनयमा डेब्यु गर्दैछन् । ऋषि धमलाको पनि यो पहिलो फिल्म निर्माण हो ।

फिल्म प्रचारमा लागिपरिरहेका नव कलाकारहरु फिल्मबाट निकै आशावादी छन् । ‘हामीले एक म्युजिकल लभ स्टोरी फिल्म बनाएका छौं’, नायिका एलिजा भन्छिन्, ‘यस फिल्ममा दर्शकले सम्पेन्स, रोमान्स, कमेडी सबै पाउनु हुनेछ ।’ एलिजाका अनुसार फिल्मले दर्शकलाई रुवाउने, हसाउने दुवै काम गर्नेछ ।

त्यस्तै नव-नायक समुन्द्र पण्डित यस फिल्ममा निकै मेहनत गरेर काम गरेको बताउँछन् । ‘अनुराग मेरो डेब्यु फिल्म भएकाले पनि यसमा मैले धेरै मेहनत गरेको छु’, समुन्द्र थप्छन्, ‘यहि फिल्मले मलाई स्थापित गरोस भन्ने भएर पनि मेहनत गरेको हुँ ।’

फिल्मको सार्वजनिक प्रचार सामग्री गीत र ट्रेलरमा आएको प्रतिक्रियाबाट टिम निकै उत्साहित देखिन्छ । ‘नयाँ कलाकार भए पनि हाम्रो गीत र ट्रेलरलाई एकदमै रुचाइदिनु भएको छ’, समुन्द्र भन्छन्, ‘फिल्मलाई पनि यसरी नै माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

ट्रेलरमा फिल्मको केही अंश मात्र देखाइएको र फिल्ममा धेरै कुरा देखाउन बाकीं रहेको एलिजाले बताइन । उनले भनिन्, ‘हामीले फिल्ममा भएको भन्दा बाहिरी कुरा हालेर दर्शक झुक्काउने ट्रेलर बनाएको छैनौं । फिल्ममा भएका धेरै कुराहरु दर्शकलाई देखाउन बाकीं छ । पक्का पनि दर्शक निराश पर्ने फिल्म बनाएको छैनौं ।’

समुन्द्रलाई सुरुवाती दिनमा एलिजासँग केमेष्ट्री मिलाउन निकै डर लागेको थियो । ‘उहाँहरु चर्चित हुनुहुन्थ्यो । कसरी काम गर्ने होला भन्ने डर थियो’, समुन्द्र भन्छन्, ‘भेटे पछि उहाँहरु निकै फ्रेन्डली पाएँ । काम गर्न सलिजो नै भयो ।’

त्यस्तै ऋषि धमला फिल्मको कथाबस्तु मन परेकोले फिल्म निर्माणमा आएको तर्क राख्छन् । धेरैले उनलाई आफ्नो श्रीमतीलाई फिल्मको हिरोइन बनाउन फिल्म बनाएको आरोप लागाइरहेका छन् । तर ऋषि यस कुरालाई सिधै नकार्छन् । ‘एलिजालाई अन्य फिल्मबाट पनि अफर आएका थिए । उनलाई हिरोइन बनाउन मैले फिल्म बनाउन पर्ने थिएन’, ऋषि थप्छन्, ‘पहिलो फिल्म राम्रो होस् भन्ने भएर नै राम्रो कथामा आफैले लगानी गरेर नायिका बनाएको हुँ ।’

एलिजाको फिल्म क्षेत्रमा आउने सानै देखिको रुची थियो । त्यहि सपना पुरा गर्न पनि उनी फिल्म क्षेत्रमा आएको बताउँछिन् । ‘फिल्म क्षेत्रमा आउने सानै देखिको सोच हो तर सानो उमेरमा बिवाह भएका कारण परिवारलाई सेटल गरेर यस क्षेत्रमा आएको हुँ ।’ उनले भनिन् ।

ऋषि ‘अनुराग’ हरेक प्रेम गर्ने व्यक्तिले हेर्नु पर्ने फिल्म भएको दावी गर्छन् । ‘अनुराग फिल्म नै माया गर्नेहरुको लागी बनाइएको फिल्म हो’, उनी थप्छन्, ‘त्यसैले पनि हरेक प्रेम गर्ने मानिसले हेर्नु पर्ने फिल्म हो अनुराग ।’

ऋषि धमलाले पनि श्रीमतीको सपना पुरा गर्न निकै साथ र सहयोग गरिरहेका छन् । बिवाहको दिन समेत कार्यक्रम चलाएर मात्र बिवाह मण्डपमा पुगेका ऋषिले अहिले भने फिल्मको लागि निकै समय दिइरहेका छन् । फिल्ममा उनको लगानी भएका कारण पनि उनी फिल्मको प्रचारमा हिडिरहेका छन् । उनी हरेक जसो कार्यक्रममा पुग्छन् र फिल्मको प्रचार गरिरहेका हुन्छन् ।

अनुराग प्रदर्शनमा आउने दिन नै अन्य दुई फिल्म पनि प्रदर्शनमा आउदै छन् । तीन फिल्म एकै दिन प्रदर्शन आउनु सबै निर्माताको लागि घाटा हुने एलिजा बताउँछिन् । ‘हाम्रो फिल्म क्षेत्र भन्ने भावना सहित फिल्म चलाउने हो भने सबैलाई राम्रो हुने थियो’, एलिजा थप्छिन्, ‘यहाँ को भन्दा को ठुलो भन्ने भावना बढी पाइन्छ ।’

पहिलो पटक फिल्म निर्माणमा आएका ऋषि फिल्मको लगानी देखेर तर्सिएका छन् । ‘फिल्म निर्माणमा यति धेरै लगानी लाग्छ भन्ने सोचेको पनि थिइन’, उनले भने । उनका अनुसार फिल्मको जम्मा लगानी २ करोडको हाराहारीमा छ । यस लगानी फिल्मले फिर्ता गरिदिनेमा पनि उनी विश्वस्त देखिन्छन् ।