फ्राइडे रिलिज : तीन डेब्यु निर्देशकका तीन धारका फिल्म

असोज १२ गते शुक्रबारबाट तीन नेपाली फिल्मले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको ‘कथा काठमाडौं’, सत्यराज चौलागाईं निर्देशित ‘अनुराग’ र यश कुमार निर्देशित फिल्म ‘छिरिङ्ग’ आजबाट एक साथ हलमा लाग्दैछन् । तीनै जना निर्देशकको यी डेब्यु फिल्म हुन् ।

तीनै फिल्म फरक-फरक धारमा निर्माण भएका फिल्म हुन् । कथा काठमाडौंले काठमाडौं भित्र हुने तिन भिन्न कथालाई प्रस्तुत गर्नेछ, अनुराग म्युजिकल लभ स्टोरी फिल्म हो भने छिरिङ्गले बहुपति प्रथालाई बोलेको छ ।
कथा काठमाडौंमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मन देशाराज जोशी, सन्ध्या केसी, संजोग कोइराला, प्रेक्षा अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । फिल्मलाई विजय राईले निर्माण गरेका हुन् । लुवाज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन् ।

चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतिमा निर्माण भएको म्युजिकल लभ स्टोरी अनुरागबाट दुई कलाकार एलिजा गौतम र समुन्द्र पण्डितले फिल्म क्षेत्रमा डेब्यु गर्दै छन् । फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राना लगायतको पनि मुख्य भूमिका रहेको छ । राम कुमार केसीले खिचेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

त्यस्तै, चर्चित गायक यस कुमारको डेब्यु निर्देशन रहेको फिल्म हो, छिरिङ्ग । छिरिङ्गमा यश कुमार, निमा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ । सुनिल माथेमा प्रधान, नविन बुढाथोकी र आई बि दर्नालको लगानी रहेको फिल्मलाई मान कृष्ण महर्जनले खिचेका हुन् ।