तारिफयोग्य निर्देशन, कथा र अभिनय ‘कथा काठमाडौ’

संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्म ‘कथा काठमान्डौ’ लाई विशेष शो मा रुचाइएको छ । राजधानी स्थित कुमारी हलमा आइतवार साँझ आयोजना गरिएको विशेष शोमा फिल्म हेरिसकेपछि उपस्थित सेलिब्रेटीहरुलेले यसको कथा वस्तु र निर्देशनसँगै अभिनयको प्रसंसा गरेका छन् ।

फिल्म हेर्नको लागि सदिक्षा श्रेष्ठ , आकाश अधिकारी, माधव वाग्ले, नविन सुब्बा, अशोक शर्मा, प्रदीप भट्टराई , दिपेन्द्र के खनाल, साम्तेन भुटिया, दिपेन्द्र लामा, खगेन्द्र लामिछाने , दीपकराज गिरी , केदार घिमिरे , निर्मल शर्मा, जितु नेपाल, प्रशान्त ताम्राकार, पुजा शर्मा , बर्षा राउतलगायत उपस्थित थिए । उनीहरुले कथा काठमान्डौ युनिटसँगै फिल्म हेरेका थिए । अहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विजय राईले निर्माण गरेका हुन् । यसमा प्रियंका कार्की , प्रमोद अग्रहरी, आयुष्मान डिएस जोशी, सन्जोग कोइराला, सन्ध्या केसी र पेक्षा अधिकारी लगायतको अभिनय रहेको छ । फिल्ममा काठमान्डौका भिन्न भिन्न तिन कथालाई देखाउने प्रयास गरिएको छ ।

फिल्मका बारेमा नेपाली फिल्मी जगतका विभिन्न व्यक्तित्वहरुले बिचार राखेका छन् ।

निर्देशक प्रदीप भट्टराई भन्छन्, “फिल्म राम्रो बनेको छ ।  यो फिल्म यतिबेला जे सुकै भएपनि आउदो केहि वर्षपछि यो समयमा कथा काठमान्डौ बनेको थियो भनेर हामीले अवश्य सम्झिने छौ ।  समाजका यथार्थ चित्रणलाई पर्दामा चित्रण गर्ने प्रयास एकदमै राम्रो छ ।  फिल्मले यो सहरको घटनाक्रमलाई देखाएको छ ।  यस किसिमको सब्जेक्टलाई रोज्ने संगीताजी को आटलाई हामीले मान्नु पर्छ ।”

निर्देशक दिपेन्द्र के खनाल,”फिल्मले हाम्रै वरपरको कथालाई भन्छ । यो एउटा सोच मात्र होइन , यथार्थ पनि हो । फिल्म हेर्दै गर्दा धेरै घरमा घटिरहेको घटनालाइ पनि सिम्बोलको रुपमा लिन सकिन्छ । फिल्ममा कलाकारको अभिनय जबर्जस्त छ । निर्देशकले कथालाई न्याय गरेकी छिन भने कलाकारले आफ्नो भूमिकालाई । एकै फिल्ममा तिन कथा , यो हाम्रो लागि केहि फरक र नौलो पनि हो । हामी कहाँ फिल्म मेकिङमा भैरहेको परिवर्तनको यो एउटा उदाहरण हो ।”

पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ,”लाइफ सबैको आ आफ्नै हुन्छ , अनि संघर्ष पनि यहि नै हो कथा काठमान्डौ । फिल्मले यथार्थलाइ देखाएको छ । हामी अरुको लाइफ पनि आफ्नै जस्तो होला भन्ने सोच्छौ तर यस्तो हुदैन । फिल्म हामी हेरिरह्दा केहि भावुक पनि बने भने मैले न बुझेको भिन्न भिन्न कथालाई पनि देख्न पाए । निकै राम्रो बनेको छ । यसको गीतकै कारणले मुल्याङ्कन भयो तर त्यो कथा अनुसार नै रहेछ , जसलाई निर्देशकले प्रस्ट्याउनु भएको छ । फिल्मको निर्देशकीय क्षमता मात्र होइन कलाकारको अभिनय पनि खुलेर प्रसंसा गर्नु पर्छ ।”

हास्य कलाकार जितु नेपाल,”फिल्ममा मनोरंजन मात्र छैन संदेश पनि छ । कहिँ हामी हास्छौ त कहिँ भावुक बन्छौ । यो एउटा प्रयोग पनि हो , तिन भिन्न भिन्न कथा । तर यो हाम्रै समाजको यथार्थ पनि हो । फिल्मले केहि न केहि छाप पक्कै छोड्छ । रेगुलर फिल्म भन्दा यो फरक छ । संगीता जी र फिल्मका कलाकारको काम तारिफ योग्य छ । ”

निर्मात्री अभिनेत्री पुजा शर्मा,” फिल्म राम्रो बनेको छ । जसरि गीतको कारणले चर्चामा आयो , गीतकै कारण यसलाई जुन सोचाइ बनाइएको थियो , त्यस्तो केहि छैन फिल्ममा । गीतमा देखिएका दृश्य फिल्मको घटना क्रम अनुसार आउदा सुहाउदो लाग्छ । त्यो अभिनयका लागि प्रियंका जीलाई तारिफ गर्नु पर्छ । फिल्म पारिवारिक छ , परिवारसँग हेर्दा हुन्छ । महिलाको समस्या र बाध्यतासँगै यसमा सहन क्षमतालाई पनि देखाइएको छ ।”

नायिका वर्षा राउत, “कथा तिन नै राम्रा छन् । सबैको आ आफ्नै घटना क्रम छ । यस किसिमको फिल्म हाम्रो लागि नयाँ हो , तर सुरुवात कसै नकसै मार्फत त हुने पर्छ त्यो भयो , फिल्म मलाइ राम्रो लाग्यो । ”