शैक्षिक बिकृती माथी छक्का पन्जा – निर्देशक दीपाश्री निरौला

असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म छक्का पन्जा ३ को बुकिंङ खुल्ला गरिएको छ । बुकिंङ खुल्ला भएको केही समयमा नै अधिकांस शोहरु बुक भएका छन् । साथै छक्का पन्जा ३ क्युएफएक्स चेनमा सर्वाधिक शो समेत पाएको छ । रेकर्ड ब्रेकर छक्का पन्जा सिरिजको तेश्रो सिक्वेल छक्का पन्जा ३को बुकिंङ हेर्दा छक्का पन्जाले राखेको रेकर्ड ब्रेक गर्ने सम्भावना देखिएको छ ।

कमेडी जनरामा फिल्म निर्माण गर्दै आएका छक्का पन्जा टिमले तेश्रो सिक्वेलबाट कमेडी सँगसँगै कन्टेन्ट प्रस्तुत गर्न सुरु गरेका छन् । ‘छक्का पन्जामा कन्टेन्टमा ध्यान नदिँदा दर्शकको गाली खाएको थिएँ, छक्का पन्जा २मा दर्शकलाई भरपुर हँसाउन सफल भयौँ । अब तेश्रो पटक दर्शकलाई हँसाउनुको साथै केही मेसेज दिने प्रयत्न गरेका छौँ । छक्का पन्जाको बेला खाएको त्यो गाली छक्का पन्जा ३मा तालीमा परिणत हुनेछ’, निर्देशक दीपाश्री निरौलाले भनिन् ।

शिक्षाको प्रभाव र शिक्षाको बिसंगतीले कस्तो सम्मको स्थिती आउन सक्छ भन्ने मूल बिषयमा फिल्म केन्द्रित रहेको निर्देशक निरौलाको भनाई थियो । दर्शकले फिल्म हेरिसकेपछी, ‘जुन बिषयमा हामीले काम गरेका छौँ त्यसको प्रसंशा गर्नु हुनेछ र हामी सबैले त्यो बिषयमा सोच्नु पर्ने रहेछ भन्ने कुरा मनन गर्नु हुनेछ । त्यो बिश्वास मैले गरेको छु’, निरौलाले थपिन् । फेस्टिभ मुडमा एक राम्रो फिल्म हेरौँ भन्ने दर्शकको चाहा हुन्छ त्यो फिल्म छक्का पन्जा ३ बन्न सक्छ र दर्शक हलसम्म आउनुहुनेछ भन्नेमा विश्वस्त छौँ’, निर्देशक निरौलाले भनिन् ।

सम्पूर्ण क्षेत्र र वर्गका नेपालीहरुलाई हलसम्म फिल्म हेर्न ल्याउने चुनौती आफुमा रहेको र त्यसै अनुरुप बालक देखि बृद्धसम्मका सम्पूर्ण नेपालीले हेर्न मिल्ने र हेर्नै पर्ने फिल्म बनाएको निर्देशक निरौलाको जिकिर थियो । छक्का पन्जा टाइटल जस्तै फिल्मको ट्रेलरले दर्शकलाई छक्का पन्जा गरेको छ की छैन भन्ने हाम्रो प्रश्नमा ठट्यौली जवाफ दिँदै निरौलाले भनिन्, ‘छक्का पन्जा नै नगर्ने भए टाइटल राखेको मतलव नै भएन नी होइन ? तर कसले, किन, कसरी र केका लागी गर्छ भन्ने जान्नका लागी फिल्म नै हेर्नु पर्छ’ ।

कमेडी जनाराको यस फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।