आफ्नै रेकर्ड तोड्दै ‘छक्का पञ्जा ३’

‘छक्का पन्जा ३’ ले बक्स अफिसमा बम्परको व्यापार गरेको छ । शनिबार मात्रै यो मल्टीस्टारर फिल्मले देशभरबाट झण्डै दुई करोडको व्यापार गरेको आँकलन गरिएको छ । यसर्थ छक्का पञ्जा ३ ले यसको अघिल्लो प्रिक्वेललाई एक दिने कलेक्सनमा उछिनेको छ । गत सालको फूलपातीमा रिलिज भएको छक्का पञ्जा २ले एक करोड ५३ लाखको ग्रस कलेक्सन गरेको थियो । यसको तेश्रो श्रृंखलाले शनिबार करिब दुई करोडको कलेक्सन गरेर नयाँ किर्तिमान बनाएको हो ।

सर्वाधिक हल र शो संख्या पाएको फिल्मले प्रदर्शनको पहिलो दिनमै करिब डेढ करोडको व्यापार गरेको थियो । बिदा नपर्दा कुनै पनि फिल्मले गरेको यो कमाइ अर्को रेकर्ड हो । सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्मको तेश्रो श्रृंखलाले चार दिनमा झण्डै चार करोडको व्यापार गरेको आँकलन छ ।

सरकारी र निजी विद्यालयको अन्तरलाई मुख्य विषयवस्तु बनाइएको छक्का पञ्जा ३ लाई दर्शक तथा समिक्षकले रुचाएका छन् । दिपाश्री निरौला निर्देशित फिल्ममा दिपक राज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ । साथै फिल्ममा दिपाश्री निरौला, किरण केसी, शारदा गिरी, स्वस्तिमा खडका, विल्सन विक्रम राई, पियंका कार्की, सन्जोग कोइराला, शिवहरी पौडेल, अनुरागमान सिंह कुँवर, निर शाह, लक्ष्मि गिरी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।