दीपिका भइन् इंगेज्ड

निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईले इन्गेजमेन्ट गरेका छन् । केहि पारिवारिक सदस्यहरुको उपस्थितीमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरे लगत्तै उनीहरु थाइल्यान्ड उड्दै छन् । दिवाकर र दीपिकाका बीचमा प्रेम सम्बन्ध छ भन्ने हल्ला बेला बखत चल्दै आएको थियो ।

सम्बन्ध स्वीकार गर्दै निर्देशक भट्टराईले आफ्नो फेसबुक प्रोफाइलमा एण्ड सि इज माइन फरेभर भन्दै दीपिका र उनको फोटो पोस्ट गरेका छन् । इन्गेजमेन्ट गरे पनि तत्कालै उनीहरुले बिहे भने गर्ने छैनन् । दिवाकरका अनुसार अबको १ वर्ष भित्रमा दुवैले विवाह गर्नेछन् ।

दिवाकर र दीपिकाको प्रेम फिल्म ‘ऐश्वर्य’ को सेटबाट सुरु भएको थियो । दिवाकरले निर्देशन गरेको सोही फिल्मबाट दीपिकाले डेब्यु गरेकी थिइन् । सो फिल्म रिलिज नहुँदै दुवैको अफेयरको हल्ला बजारमा फैलिएको थियो । मिडियामा खुलेर स्वीकार नगरे पनि सामाजिक सञ्जालमा दुवैको प्रेम लुकेको थिएन ।

‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यु गरेका दिवाकरले ‘स्टुपिड मन’ र पोस्ट प्रोडक्सनमा रहेको ‘क्याप्टेन’को निर्देशन गरेका छन् । दीपिकाले अभिनय गरेको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ हलमा चलिरहेको छ ।