फिल्म ‘लभ यू हमेशा’मा यशराज अनुबन्धित

आधा दर्जन भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेका नायक तथा मोडल यशराज गराच नयाँ फिल्ममा अनुबन्ध भएका छन् । उनी दार्जलिङ बासी भास्कर प्रधानको निर्देशनमा बन्न लागेको फिल्म ‘लभ यू हमेशा’मा अनुबन्ध भएका हुन् । यस अघि उनले अभिनय गरेका फिल्महरुले खासै व्यवसायिक सफलता पाएका छैनन् । फिल्म ‘मायाको बारीमा’ले यशराजलाई दर्शकमाझ केही हद सम्म परिचित गराए पनि अन्य फिल्मले सफलता प्राप्त गर्न सकेका छैनन् । विशेषत फिल्म भन्दा बढी म्युजिक भिडियो र र्याम्प वाकमा रुचाइएका उनी अब पुन नेपाली फिल्मी पर्दामा फर्किन लागेका हुन् ।

चार सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका उनको यो १०औं फिल्म हो । प्रधान समुहले दार्जलिङमा फिल्म निर्माण गर्दै आएका छन् । उनीहरुको समुहले निर्माण गर्न लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मको छायांकन दार्जलिङ लगायत अन्य स्थानमा समेत हुनेछ । फिल्मको छयांकन शिव ढकालले गर्ने छन् । फिल्मका अन्य कास्टहरुको बारेमा भने खबर बाहिरिएको छैन । यशराजले पछिल्लो समय ‘उफ यो मन’ नामक फिल्मको छायांकन सक्काएका छन् । हिट फिल्मको प्रतिक्षामा रहेका यशलाई लभ यू हमेशाले राहत देला कि नदेला त्यो भने फिल्म प्रदर्शन पश्चात थाहा हुनेछ ।