झरनाका डेब्यु हिरो झरनासँगै भिड्दै

फिल्म ‘ए मेरो हजुर २’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायक हुन् सलिन मान बनिया । उनलाई उक्त फिल्मबाट निर्देशक झरना थापाले डेब्यु गराएकी थिइन् । ए मेरो हजुर २ बाट सलिनको चर्चा चुलिएको थियो । स्टार युवा नायकहरुको भिडमा बलियो उपस्थिती जनाएका सलिनको दोश्रो फिल्म ‘यात्रा’ चैत्र २९ मा रिलिज हुँदैछ ।

गज्जबको कुरा के छ भने, सलिनलाई डेब्यु गराएकी नायिका झरना थापाकै निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ३’ पनि चैत्र २९ मा नै रिलिज हुँदैछ । ए मेरो हजुर ३ बाट झरनाले आफ्नी छोरी सुहानालाई फिल्ममा डेब्यु गराएकी छिन् । फिल्ममा सुहाना नेपालका पछिल्लो समयका स्टार नायक अनमोल केसीको अपोजिटमा अभिनय गरिरहेकी छिन् ।

ए मेरो हजुर ३ सांगीतिक लभ स्टोरी फिल्म हो भने यात्रा जर्नी लभ स्टोरी फिल्म हो । दुवै फिल्म लभ स्टोरी जनरामा निर्माण भएका छन् । ए मेरो हजुर ३ निर्माण यूनिटले फिल्म छायांकनमा जानु अगाडी नै फिल्मको रिलिज डेट चैत्र २९लाई फाइनल गरेका थिए ।

अहिले आएर ‘यात्रा’ निर्माण यूनिटले पनि त्यही डेटमा फिल्म रिलिज गर्ने घोषणा गरेका छन् । वितरकको सल्लाह अनुसार उक्त डेट फाइनल गरिएको यात्रा निर्माण टिमको भनाई छ । यता ए मेरो हजुर ३ निर्माण पक्षले भने यस बिषयमा कुनै प्रतिकृया जनाएका छैनन् । अब सलिनले आफ्नै डेब्यु निर्देशकसंग चैत्र २९मा हलमा भिड्नु पर्नेछ । आफ्नै डेब्यु नायक र निर्देशक बिचको भिडन्त कस्तो होला ? त्यसको लागि भने चैत्र २९ नै कुर्नु पर्ने हुन्छ ।