भक्तराज आचार्यलाई क्यानडामा सम्मान

भजन शिरोमणी भक्तराज आचार्यलाई एक कार्यक्रमकाविच क्यानडामा अभिनन्दन गरिएको छ । नोभेम्बर १८मा अल्बर्टा राज्यको प्रान्तीय राजधानी एड्मन्टनमा आयोजित भक्तराज सम्मान तथा सत्य–स्वरूप सङ्गीत साँझ कार्यक्रममा अभिनन्दन पत्र तथा क्यानेडियन डलर ५०१ बाट सम्मान गरिएको हो ।

अभिनन्दन पत्र तथा नगद ईश्वर खत्री र राजेन्द्र सुवेदीले सत्यराज आचार्य तथा स्वरूपराज आचार्यलाई हस्तान्तरण गरे । सोही अवसरमा सत्य र स्वरुपराजलाई समेत नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्रमार्फत सम्मानित गरिएको थियो।

कार्यक्रममा भक्तराजले नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनकै गीत जहाँ छन् बुद्धका आँखा… ईश्वर खत्रीले र मुटु जलिरहेछ …. लगायत राजेन्द्र सुवेदीले गाएर सम्मान प्रकट गरेका थिए । सत्यराजले पनि आफ्ना बुवालाई स्मरण गर्दै बुवाकै दुई वटा कालजयी गीतहरू प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा  अर्जुन रसाइलीले आफ्नै गीत प्रस्तुत गरेका थिए भने सत्य र स्वरुपले एकल तथा संयुक्त रूपमा आफ्ना पपुलर गीतहरु गाएका थिए ।