२३ लाख लागतमा ‘वीर विक्रम २’ को गीत

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘विर विक्रम २’को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायांंकन भैरहेको छ । निर्देशक चाम्स ‘विर विक्रम २’को जम्बो टिम सहित केही दिन अगाडी मुस्ताङ पुगेका थिए । चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

यो फिल्मको अहिले मुस्ताङमा गीतको छायाँकन भैरहेको छ । छायांंकन चलिरहेको गीतमा फिल्मका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारी फिचर्ड छन् ।

कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

‘विर विक्रम २’ पुर्ण रुपमा नयाँ कथामा निर्माण भैरहेकाले यो फिल्म विर विक्रमको सिक्वेल नभएको निर्माण युनिटले बताएको छ । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।