प्रियंका कार्कीको आवाजमा ‘अनागत’ को गीत

फिल्म अनागतको गीत ‘मनको व्यथा’ सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र सुरजसिंह ठकुरीको आवाज रहेको छ भने शब्द रचना सुरज र साम्तेन भुटियाको रहेको छ । गीतमा संगीत संयोजन समेत सुरज कै रहेको छ । यस अघि ट्रेलर सार्वजनिक गरेको फिल्म निर्माण टिमले यस पटक स्याड भर्सनको गीत सार्वजनिक गरेको हो । गीतमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र अर्पण थापा फिचर्ड छन् ।

सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको अभिनय रहेको छ । फिल्म माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् । साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका छन् । करीब २ वर्ष अगाडि नै छायांकन सकिएको फिल्मको प्रदर्शन मिति माघ ११ लाई फाइनल गरिएको छ ।