शर्मिला पाण्डेको लगानीमा अर्पण थापाको ‘घर’

डीएस डिजिटलको ब्यानरमा बन्न लागेको फिल्म ‘घर’को काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणा गरिएको छ । शर्मिला पाण्डेको निर्माण रहने फिल्म अभिनेता तथा निर्देशक अर्पण थापाले निर्देशन गर्दै छन् भने सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । फिल्मको कथा समेत अर्पणले नै लेखेका हुन् । निर्मात्री पाण्डेले यसअघि फिल्म ‘लभ लभ लभ’ र ‘चंगाचेट’ निर्माण गरेकी थिइन् ।

माघबाट फ्लोरमा जाने भनिएको फिल्म पूर्णतया हरर कथामा आधारित हुनेछ । फिल्मका लागि दुई नायिकासँगै अन्य कलाकारको खोजी भइरहेको निर्माण पक्षले बताएको छ । कार्यक्रममा बोल्दै अभिनेता तथा निर्देशक अर्पण थापाले यसअघिको फिल्म ‘सुनकेशरी’ ह्युमर र हरर मिक्स गरेर बनाएको तर ‘घर’ फिल्म पूर्णतया हरर हुने र दर्शकलाई तर्साउन सफल हुने विश्वास ब्यक्त गरे । त्यस्तै डीएस इन्टरटेन्मेन्टका तर्फबाट बोल्दै निर्देशक दिपेन्द्र के खनालले फिल्मको कथा वस्तु मनपरेकाले लगानी गर्न तयार भएको बताए ।