बाशुदेव मुनालको स्मृतिमा सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक स्वर्गीय बाशुदेव मुनालको स्मृतिमा गठित बाशुदेव कोइराला (मुनाल) मेमोरियल फाउण्डेसनले यहि पौष २७ गते उदयपुर जिल्लाको चौदन्डिगढि नगरपालिका १, चौदन्डिगढिमा सहयोग तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

चौदन्डिगढिको शारदा माध्यमिक बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, गरिब तथा असहाय साथै जेष्ठ नागरिक गरी करिब १०० जनालाई ब्लांकेट, ज्याकेट तथा खाद्य सामाग्री वितरण गरिएको थियो । फाउण्डेसनका अध्यक्ष तथा मध्य पस्चिम्माञ्चल बिश्व बिद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १का सभासद बिमल कार्कीको उपस्थिति थियो ।

साथै चौदन्डिगढि १ का वडा अध्यक्ष रोहित तामाङ, शारदा मा बि का प्रधान अध्यापक तारानाथ कटवाल लगायत विभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति कर्त्यक्रममा रहेको थियो । स्व: बासुदेव मुनालको जन्म स्थान साथै उनले अध्यन गर्नु भएको बिधालयबाट फाउण्डेसनले सहयोगको कार्यक्रम सुरुवात गरेको फाउण्डेसनको अध्यक्ष प्रा डा उपेन्द्र कोइरालाले बताएका छन् ।

देशको कला र संस्कृतिमा आफ्नो जीवन भर उल्लेखनिय योगदान दिएका स्व: बाशुदेव मुनालको स्मृतिमा गठित यो फाउण्डेसनले आगामी दिनमा अन्य विभिन्न ठाउँमा यस्तै तथा यो भन्दा बढी सहयोग गर्ने जानकारी कार्यक्रममा दिइयो । साथै असार २६ गतेको दिन मुनालको जन्मदिनको अवसर पारेर फाउण्डेसनले कुनै पनि क्षेत्रको बहु प्रतिभासाली अथवा कुनै पनि क्षेत्रमा बिशेष योगदान दिएका प्रतिभाशाली व्यक्तिलाई बिशेष सम्मान गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।