स्वरोजगार सिकाउने ‘गोपी’

फिल्म ‘गोपी’का मुख्य अभिनेता बिपिन कार्कीले फिल्मले नेपालमा सर्वाधिक बहसमा रहेको बैदेसिक रोजगार र स्वालम्बनको आवश्यकतालाई पृष्ठभूमिमा राखेर कथा भन्ने प्रयास गरेको बताएका छन् । शनिबार पत्रकारसँग गफिँदै अभिनेता कार्कीले फिल्मले विदेशलाई पहिलो र अन्तिम गन्तव्य मान्नेहरुलाई त्यहाँ जानुअघि देशमै केही प्रयास गर्न आग्रह गरेको बताए ।

‘फिल्म न विदेश जानेका बिरुद्धमा छ न समर्थनमा । हामीले विदेशलाई अन्तिम गन्तब्य मान्नुअघि देशमै केही गर्ने प्रयास गर्यौं कि गरेनौं भन्ने कुरा सम्झाउनलाई फिल्ममा यो खालको कथा बुनेका छौं,’ उनले भने,‘ व्यक्तिगत रुपमा पनि मलाई दत्तचित्त भएर कुनै पेशामा लाग्यो भने सफल भइन्छ जस्तो लाग्छ । हाम्रो फिल्मले पनि यस्तै मान्यता राख्ने चरित्रको कथा पेश गरेको छ ।’

माघ १८ बाट रिलिज हुने फिल्ममा बिपिनले गाई पाल्ने युवाको चरित्र निर्वाह गरेका छन् । उनले फिल्ममा चरित्रको पेशा गाईपालन भए पनि फिल्मले धार्मिक रुढिवादितालाई स्थान नदिएको बताए । उनले भने, ‘ फिल्म पलायन गराउने वातावरण र हुन नखोज्नेबीचको द्धन्द्धको कथा हो । यसमा गाईको विषय अरु कुनै स्वार्थले आएको छैन । फिल्मको धेरै राम्रो पक्षमध्ये मलाई मन परेको पक्ष एउटा यो पनि हो ।’

फरक प्रचार शैलीका कारण प्रतीक्षित बनेको फिल्ममा बर्षा राउत र सुरक्षा पन्त पनि मुख्य भूमिकामा छन् । सामीप्यराज तिमल्सेनाले लेखेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् ।